फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

(GMT+08:00) 2017-09-11 15:46:32

अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ। स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको हो।

करिब पाँच हजार मिटर उचाइको खाग्ला ग्लेसियर क्षेत्रमा इजरायल, अमेरिका, जर्मनी, इटाली र अष्ट्रियाका सात प्रशिक्षकले प्रशिक्षण दिने छन्। यही भदौ २९ गतेदेखि छ दिनसम्म हिमपहिरो उद्धार र स्की पर्वतारोहणसम्बन्धी तालीम दिने फाउण्डेशनका अध्यक्ष उत्सव पाठकले बताएको राससले लेखेको छ।

तालीममा स्की खेल खेल्ने तरिका, सीप र उद्धार कौशलबारे सिकाइनेछ। हिउँमा चिप्लेटी खेल्न आवश्यक पर्ने सामग्री, उपकरण र प्रशिक्षण निःशुल्क दिइनेछ। एक मलेसियाका विद्यार्थीसहित आठ नेपाली तालीममा सहभागी हुनेछन्।

स्की एन्ड स्नोबोर्डिङ फाउण्डेसनले यसअघि गौरीशंकर संरक्षण क्षेत्रको ना भन्ने ठाउँमा ३५, मेरा पिकमा पाँच र दोलखाको कालिञ्चोकमा २० र अन्नपूर्ण हिमालको आधारशिविरमा ५० जनालाई स्की खेलसम्बन्धी प्रशिक्षण दिएको छ।

नेपालमा प्रशस्त मात्रामा रहेका हिमाल, चुली तथा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण, पदयात्राजस्ता साहसिक पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा स्की खेलको विकास र विस्तार गरी पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका गतिविधि फाउण्डेशनले सञ्चालन गर्दै आएको फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले बताए।

जानकारी तथा लेखहरु