फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शिगाचे-काठमाडौं रेलमार्गलाई एक पेटी एक मार्गमा राख्न चीनलाई नेपालको प्रस्ताव

(GMT+08:00) 2017-09-13 15:15:21

नेपालले चीनसामू शिगाचे-काठमाडौं रेलमार्गलाई एक पेटी एक मार्ग अवधारणा (ओबर)मा राख्न प्रस्ताव गरेको छ। यो रेलमार्ग शिगाचेबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म पुर्‍याउने योजना छ। नेपालले गत बैशाखमा ओबरमा हस्ताक्षर गरेको थियो।

चिनियाँ अधिकारीहरुले अझै पनि नेपालको प्रतिबद्धतालाई शंकाको नजरले हेर्न नछाडेको अनलाइनखबरले लेखेको छ। आशंकाकै बीच ओबरको कार्यान्वयन पनि सुरु भएको छ। पछिल्लो पटक बुढीगण्डकी जलविद्युत आयोजना ओबर अन्तरगत लैजान दुबै पक्ष सहमत भएका छन्।

साथै चीनले नेपालको राष्ट्रिय प्राथमिकतामा रहेका ठूलो परियोजनाहरुको सूची पनि मागेको छ।

३१ साउनको मन्त्रिपरिषद् बैठकले जलाशययुक्त जलविद्युत आयोजना, रेल तथा सडक सञ्जाल र अन्तरदेशीय प्रसारण लाइन निर्माण ओबरको सहयोग अन्तर्गत अघि बढाउन स्वीकृति दिने निर्णय गरेको छ। साथै सम्बन्धित मन्त्रालयहरुले परराष्ट्रमार्फत ठूला परियोजनाको प्रस्ताव अघि सारेका छन्।

भौतिक पूर्वाधार मन्त्रालयले शिगाचे-काठमाडौं रेलमार्ग निर्माणको प्रस्ताव अघि सारेको छ। भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरले भने, 'हामीले परराष्ट्रमार्फत शिगाचे-काठमाडौं जोड्ने रेलमार्ग निर्माणको प्रस्ताव पठाएका छौं।'

चीनले पनि नेपालसम्म रेलमार्ग निर्माणका लागि चासो देखाउँदै आएको छ। हालै चीन भ्रमणमा गएका उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भेट्दा प्रधानमन्त्री लि खछ्याङले नेपालमा रेल पुर्‍याउन अध्ययन भइरहेको बताएका छन्। तर, हिमाल वारपार हुनेगरी रेल निर्माण कठिन भएकाले भूगोलका हिसाबले पर्याप्त अध्ययन हुनुपर्ने उनको जोड छ।

सरकारले अन्तरदेशीय तथा ठूला ट्रान्समिसन लाइनमा पनि लगानी गर्न चीनसामू प्रस्ताव गरेको छ। ऊर्जा मन्त्रालयका अनुसार रसुवागढी-केरुङ ४ सय केभीको प्रसारण लाइन, पश्चिम सेती करिडोर, भेरी करिडोर र पूर्वपश्चिम करिडोरलाई ओबरमा राख्न प्रस्ताव गरिएको छ।

जानकारी तथा लेखहरु