फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो दसैंमा १६ अर्बसम्म नयाँ नोट बजारमा जाने आङकलन

(GMT+08:00) 2017-09-14 15:14:02

यो वर्षको दसैं तिहारका लागि बुधबारसम्म राष्ट्र बैंकले करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको छ। बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, नेपाली सेना, प्रहरी र सर्वसाधारण गरी उक्त रकम बराबरको नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ। साथै सर्वसाधारणका लागि राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको र्इकान्तिपुरले लेखेको छ।

काठमाडौंमा थापाथलीस्थित कार्यालय र मोफसलमा ७ वटै क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट वितरण सुरु गरेको हो। यसैगरी बुधबारदेखि नै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका १६ वटा शाखामार्फत नयाँ नोट वितरण सुरु भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशन भीष्मप्रसाद उप्रेतीले बताए। बुधबार मात्रै राष्ट्र बैंकबाट करिब साढे १३ करोड रुपैयाँ बराबरका नयाँ नोट वितरण भएको उनले बताए। बैंक र संघसंस्थालाई भदौ २१ देखि राष्ट्र बैंकले दिन थालेको थियो। सर्वसाधारणका लागि भने राष्ट्र बैंकले बुधबार मात्रै ढोका खोलेको हो।

थापाथलीस्थित राष्ट्र बैंकका कार्यालयबाट सर्वसाधारणले बढीमा प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही गर्न पाउँछन्। त्यसका लागि पहिले टोकन लिनुपर्छ। राष्ट्र बैंकले हरेक दिन दिउँसो २ बजेसम्म सर्वसाधारणलाई टोकन वितरण गर्छ। टोकन पाएका व्यक्तिलाई सोही दिन नयाँ नोट दिइने कामु कार्यकारी निर्देशक उप्रेतीले बताए।

सर्वसाधारणले नेपाल बैंकका काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट पनि नयाँ नोट साट्न पाउँछन्। यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्सालबाट पनि नयाँ नोट साट्ने सुविधा उपलब्ध छ। गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारस्थित कृषि विकास बैंकका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ। ती बैंकहरूबाट सर्वसाधारणले प्रतिव्यक्ति २० हजारका दरले नयाँ नोट सटही गर्न पाउँछन्।

यो वर्ष राष्ट्र बैंकले १० दिनसम्म नोट सटही सुविधा दिएको छ। गत वर्ष सात दिनमा १० अर्ब ३१ करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिएको थियो। यो वर्ष १० दिनमा करिब १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण हुने राष्ट्र बैंकको अनुमान छ।

जानकारी तथा लेखहरु