फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज रातिबाट 'मौन अवधि'

(GMT+08:00) 2017-09-15 14:27:06

प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको 'मौन अवधि' आज शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ। निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार आजराति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो।

मौन अवधि सुरु भएपछि दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने छैनन्। निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ। आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। निर्वाचन आयोगले एस.एम.एस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मतमाग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ।

मौन अवधि सञ्चारमाध्यमहरु समेत सचेत हुनुपर्नेछ। यो अवधिमा सञ्चारमाध्यमहरुले उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशत प्रसारण गर्न नपाउने आयोगको सूचनामा उल्लेख छ।

स्थानीय तहको पहिलो र दोस्रो चरणमा गरी ६ प्रदेशमा यसअघि नै निर्वाचन भइसकेको छ। राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा ल्याउनका लागि प्रदेश २ को निर्वाचन भने यसअघि सारिएको थियो। असोज २ गते त्यहाँ हुन लागेको निर्वाचनमा यसअघि निर्वाचनमा भाग नलिएका राजपासहित सबै दल सहभागी हुँदैछन्।

जानकारी तथा लेखहरु