फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

५ वर्षमा ७७ अर्बको जडिबुटी निर्यात

(GMT+08:00) 2017-09-17 15:33:46

पछिल्लो ५ वर्षमा नेपालबाट ७७ अर्ब रुपैयाँ मूल्य बराबरका जडिबुटीजन्य वस्तु निर्यात भएका छन्। अलैंची, अदुवा, वनस्पति तेल औषधिजन्य जडिबुटी, सुगन्धित तेलजस्ता वस्तुको निर्यातबाट ५ वर्षमा नेपालले ७७ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार ५ वर्षमा जडिबुटीजन्य वस्तुमध्ये साढे १६ अर्ब रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ भने अदुवा ३ अर्ब १२ करोड रुपैयाको निर्यात भएको छ। यस्तै, वनस्पति तेल ४ अर्ब १६ करोड, औषधिजन्य जडिबुटी ६ अर्ब ४७ करोड र सुगन्धित तेल करिब १ अर्ब मूल्य बराबरको निर्यात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। अलैंची र अदुवालाई कृषि तथा वनस्पतिजन्य दुवैखाले उत्पादनका रूपमा लिइने गरेको कारोबारदैनिकले लेखेको छ।

आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म यस्ता वस्तुको वार्षिक निर्यात ६ अर्बभन्दा केही बढी थियो। तर गत आवमा निर्यात १ अर्ब रुपैया घटेर ५ अर्बको हाराहारीमा सीमित हुन थालेको छ। लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय व्यापार प्रतिबन्धसम्बन्धी अन्तराष्ट्रिय अभिसन्धी (साइटस)को दफा २ मा राखिएका प्रजाति निकासी गर्न प्रतिबन्ध गरिएपछि निर्यात कम भएको हो।

वैशाख १२ मा वन तथा भू–संरक्षण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर दफा २ का वनस्पति निर्यात गर्न प्रतिवन्ध लगाएको छ। दफा २ मा रहेका जटामसी र अर्किड प्रजातिका जडिबुटी निर्यात धेरै हुने गरको व्यवसायीहरू बताउँछन्। नेपाल हर्ब तथा हर्बल उत्पादक संघका अनुसार २ महिनामा मात्रै ३० करोड रुपैयाँ बराबरको जटामसी तथा अर्किड निर्यात हुन्थ्यो।

वन मन्त्रालयका सूचना अधिकृत यज्ञनाथ दाहालले साइटिसको अनुसूचि २ मा राखिएका वनस्पतिहरू नेपालबाट पनि लोप हुने अवस्थामा रहेकाले निर्यात रोकिएको जानकारी गराए।

जानकारी तथा लेखहरु