फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रदेश २ मा उल्लासपूर्ण मतदान

(GMT+08:00) 2017-09-18 16:05:28

         तराईका आठ जिल्ला रहेको प्रदेश नं. २ मा सोमबार बिहानैदेखि मतदान भइरहेको छ। यहाँ १ सय ३६ स्थानीय तहमा चुनाव भइरहेको हो। चुनावबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुँदैछन्। प्रदेश २ मा वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन्।

         मतदाताहरुमा चुनाबी उल्लास देखिएको छ। सोमबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

         मतदानमा जाँदा फोटोसहितको परिचयपत्र लिएर मतदान केन्द्रमा जान आयोगको आग्रह छ। चुनावका लागि वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिलालाई प्राथमिकता दिइ लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको छ। दृष्टिविहीनलाई एकाघरका सदस्यले मत दिन सघाउन सक्ने व्यवस्था आयोगले गरेको छ। आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ। प्रदेश २ का २६ लाख ६४ हजारभन्दा बढी मतदाताले मत दिँदैछन्। सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी चुनावमा परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ।

         यसअघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले उत्साहपूर्वक मतदानमा भाग लिन मतदातालाई आग्रह गरेका छन्। यादवले स्थानीय चुनावलाई पर्वका रुपमा मनाउन मतदातासँग अनुरोध गरेका छन्। यादवले आफूले रोजेको योग्य उम्मेदवारलाई मत दिन मतदातासँग आग्रह गरे।

          चुनावमा ३७ हजार २ सय ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये महिला १४ हजार ३ सय ३७, पुरुष २२ हजार ८ सय ६१ जना छन्। ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। नगरप्रमुख-गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जना प्रतिस्पर्धामा छन्। नगर उपप्रमुख-गाउँपालिका उपाध्यक्षमा १ सय ९७ पुरुष र ९ सय १९ जना महिला उम्मेदवार चुनावी मैदानमा छन्। वडाध्यक्षमा ८ हजार ५२ जना पुरुष र २ सय २३ जना महिला उम्मेदवार छन्। यसअघि वैशाख ३१ मा तीन प्रदेशमा पहिलो चरण, असार १४ मा तीन प्रदेशमा दोस्रो चरणमा स्थानीय चुनाव भइसकेको छ।

जानकारी तथा लेखहरु