फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवलपरासीको फलाम खानीको अन्वेषण यस वर्ष सकिने

(GMT+08:00) 2017-09-18 16:12:25

         नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि सम्भाव्यता अध्ययन यसै वर्ष सकिने भएको छ। २ वर्षअघि नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो।

         गत वर्ष पहिलो चरणमा ड्रिलिङको काम सकिएपछि दोस्रो चरणमा थप ड्रिलिङसँगै जिओलोजिकल सर्भेको काम थालिएको खानी तथा भूगर्भ विभागले जनाएको छ। यो सर्भेपछि खानीबाट कति परिमाणमा फलाम उत्खनन गर्न सकिन्छ भन्ने लगभग एकीन हुनेछ।

         सरकारले धौवादी फलाम खानीका बारेमा गरिरहेको दोस्रो चरणको अध्ययन अब यसै वर्ष सकिने विभागका महानिर्देशक राजेन्द्र खनालले जानकारी दिएको अनलाइनखबरले लेखेको छ।

पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको अनुमान गरिएको छ।

          नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको छ।

          वि.सं. ०६८ सालमा खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा त्यहाँ फलाम खानी पत्ता लगाएको थियो। त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो।

          प्रारम्भिक अध्ययनमा त्यहाँको ढुंगामा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो। फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ।

           गत वर्ष दुई स्थानमा गरिएको ड्रिलिङमा ७५ मिटर गहिरो भागसम्म फलामको कच्चापदार्थ भेटिएको थियो।

           यो वर्ष अध्ययन सकिँदासम्म त्यहाँबाट कति वर्षसम्म कुन परिमाणमा फलाम उत्खनन हुनसक्छ भन्ने पत्ता लाग्ने विभागले जनाएको छ।

           यो खानी क्षेत्रमा परापूर्वकालमा परम्परागत शैलीमा फलाम खानीको उत्खनन गरेका ३ वटा सुरुङ समेत भेटिएका छन्। स्थानीयले खानी उत्खनन तत्काल थाल्न माग गर्दै आएका छन्।

जानकारी तथा लेखहरु