फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैंका लागि चीनको केरूङ नाकाबाट नेपालतर्फ सामानको ढुवानी नियमित

(GMT+08:00) 2017-09-19 16:29:47
        चीनको केरुङमा रोकिएका नेपाली व्यापारीका सामान रसुवागढीबाट भित्रन थालेका छन्। रसुवागढी भन्सारका अनुसार शनिबारदेखि दसैंका सामानको आयात बढेको हो। नाकाबाट तस्करी बढेको भन्दै चिनियाँ अधिकारीहरूले नेपाल आउने सामानको जाँचमा कडाइ गरेपछि दसैंका सामान केरुङमा रोकिएका थिए। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको नेतृत्वको सीमाका अधिकारीहरूको टोलीले चिनियाँ पक्षलाई सहजीकरण गरिदिन आग्रहपछि आयात बढेको हो।

         रसुवागढी नाकाबाट तीन दिनमा १ सय ४५ मालवाहक कन्टेनर नेपाल भित्रेका छन्। यस अवधिमा २ सय ७० कन्टेनर केरुङ प्रवेश गरेको छन्। नाकाबाट तस्करी बढेको भन्दै चिनियाँ अधिकारीहरूले सुरक्षा जाँचमा कडाइ गरेपछि दसैंका सामान केरुङमा रोकिएका कान्तिपुर अनलाइनले जनाएको छ।

         हिजोआज चिनियाँ अधिकारीले सुरक्षा जाँचको समयलाई घटाएका छन्। नाका खुल्ने समयलाई पनि बढाएको अध्यागमनले जनाएको छ। राजधानीलगायत मुलुकका अधिकांश बजारमा दसैंका लागि चिनियाँ तयारी पोसाक भित्रने गरेको छ । केरुङबाट कन्टेनर भित्रन थालेपछि नाकामा चहलपहल बढेको छ।

         सोमबारसम्म भन्सार यार्डमा दसैंका लागि तयारी पोसाक मात्र बोकेका १ सयभन्दा बढी कन्टेनर भित्रेको भन्सार अधिकृत रमेश खडकाले बताए । भदौ महिनामा पनि दसैंका रेडिमेटका सामानहरू आएका र हाल पनि आउने क्रम जारी रहेको छ । केरुङमा झन्डै ५ सय कन्टेनर सामान रहेको व्यवसायीको भनाइ छ।

         नाकाबाट २ महिनामा २ अर्ब १२ करोड ३ लाख ९४ हजार रुपैयाँका सामान आयात भएको छ । भूकम्पले तातोपानी नाका बन्द भएपछि यो नाका संचालनमा छ।

जानकारी तथा लेखहरु