फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१० वर्षभित्र डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन काठमाडौंबाट हटाउने प्रस्ताव

(GMT+08:00) 2017-09-20 16:34:44

        डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रूपमा हटाएर विद्युतीय गाडी ल्याउन संसद्मा संकल्प प्रस्ताव पेस भएको छ। यी सवारीसाधन नै वायु प्रदूषणको मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसद्मा संकल्प प्रस्ताव पेस भएको हो। वातावरणविद्हरूका अनुसार काठमाडौंमा वायु प्रदूषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धूवाँले ओगटेको छ।

        कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले संसद्मा प्रस्ताव दर्ता गराउनुभएको हो। उहाँले काठमाडौं उपत्यकामा सन् २०२७ सम्ममा र नेपालबाटै सन् २०३१ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन पूर्ण रूपमा विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा ल्याउने संकल्प घोषणा माग गर्नुभएको ईकान्तिपुर अनलाइनले जनाएको छ। प्रस्तावमा रामेश्वर फुयाल, दीपकप्रसाद कुइँकेल, कान्ता भट्टराई र कौशर शाहलगायतका सांसदले समर्थन जनाएका छन् ।

        प्रस्तावमा पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण गाडीको बिक्री तथा वितरणमा पूर्ण रूपमा रोक लगाउने संसदको घोषणा र संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन भनिएको छ । आवश्यक नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनसमेत ध्यानाकर्षण गरिएको छ । यस्तै, विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न सुझाइएको छ। प्रस्तावमा 'वातावरण क्षेत्रमा खर्च गर्नुपर्ने पेट्रोलियम पदार्थ खरिद गर्दा वातावरणीय करका रूपमा उठाइएको रकमसमेत सदुपयोग गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन' भनिएको छ। प्रदूषण शुल्कबापत उठाइएको अर्बौं रकम वर्षौंदेखि यत्तिकै थन्किएको छ।

         पछिल्लो समयमा धेरै मुलुकले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन निषेध गरिसकेका छन्। छिमेकी भारतले समेत सन् २०३० सम्ममा आफ्नो मुलुकमा बिक्री हुने सम्पूर्ण साना सवारीसाधन विद्युतीय हुने भनेर घोषणा गरिसकेको छ । नेपालले पनि सन् २०३१ सम्ममा पेट्रोलबाट चल्ने गाडीमा रोक लगाउनु प्राविधिक हिसाबले उपयुक्त हुने थापाको जिकिर छ ।

         विद्युतीय सवारी साधनमा बढावा गर्न सके पेट्रोलियम पदार्थबाट बाहिरिने अर्बौं रुपैयाँ बच्नेछ भने काठमाडौंलाई प्रदूषणमुक्त सहर मात्र नभई साइकलमैत्री र पैदल यात्रीको सहरका रूपमा पनि स्थापित गराउन सकिने प्रस्तावमा उल्लेख छ।

         वातावरणविद् भूषण तुलाधरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा द्रुत गतिमा बढिरहेको छ । त्यसमा पेट्रोलियम पदार्थबाट चल्ने थोत्रा गाडी मुख्य कारक हुन्। यहाँको हावामा पीएम २.५ (मसिना कण जुन श्वास नलीबाट सीधै फोक्सोमा पुग्छन्) को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा औसतमा पाँच गुणासम्म बढी छ । चिकित्सकका अनुसार प्रदूषणले टाउको दुख्ने, आँखा, नाक, कान र घाँटीका साथै मुटु रोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दमका साथै प्रजनन प्रणालीमा समेत गम्भीर असर निम्त्याउँछ। काठमाडौंको भौगोलिक अवस्थिति र स्वरूपले यसको वायुमण्डलीय अवस्थितिसमेत प्रतिकूल बनेको छ।

         काठमाडौं वायु प्रदूषण बहन गर्न सक्ने क्षमता पनि कमजोर छ। सन् २०१६ को डब्लूएचओ प्रतिवेदनले पनि काठमाडौंमा प्रदूषण द्रुततर गतिमा बढिरहेको भन्दै यसलाई 'जनस्वास्थ्य संकटकाल' का रूपमा लिएको छ।

         हाल विश्वभर डिजेल र पेट्रोलयुक्त गाडी नै प्रदूषणका मुख्य कारक भएकाले विद्युतीय गाडीमा जोड दिन थालिएको छ।

जानकारी तथा लेखहरु