फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका ४ प्रमुख पर्यटकीय क्षेत्र हवाई यातायातले जोडिएपछि व्यवसायी उत्साहित

(GMT+08:00) 2017-09-22 16:24:38

        देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ। काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्को शहरमा सिधा हवाई सेवा थिएन।

         अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ। बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो। यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका गोरखापत्र अनलाइनले लेखेको छ।

         क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउनुहुन्छ। चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन्। यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्को शहरमा जानुपर्ने बाध्यता रहेको थियो ।

         चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी दुई लाखको हाराहारीमा पर्यटक आउने गर्दछन्। पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन्। पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउनुहुन्छ ।

         चारवटै सहरसँगको 'एयर कनेक्टिभिटी'पछि स्तरीय पर्यटक बढ्ने उहाँको अनुमान छ। छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उहाँले बताउनुभयो।

          पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुनेछ। भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन्। जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ।

          भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उहाँको भनाइ छ। बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उहाँले बताउनुभयो।

          लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन्।

जानकारी तथा लेखहरु