फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रसंघको महासभाका क्रममा नेपालका प्रधानमन्त्रीद्वारा सार्कका ४ मुलुकका प्रमुखसँग भेटवार्ता

(GMT+08:00) 2017-09-22 16:25:58

       संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार न्यूर्योकमा भेटवार्ता गर्नुभएको नेपालखबर अनलाइनले जनाएको छ।

        प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो। भेटवार्तामा राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण गर्दै आफू नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो। उहाँहरुबीच सार्क क्षेत्रका समस्या र सम्भावनाका बारेमा पनि कुराकानी भएको थियो। श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले नेपालको आनन्दकुटी विहार र मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

         त्यस्तै प्रधानमन्त्री देउवाको बिहीबार नै अफगानिस्तानका राष्ट्रपति असर्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसंग छुट्टाछुट्टै भेटवार्ता भएको छ। ती भेटमा आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तार गर्नेसम्बन्धी कुराकानी भयो। पाकिस्तानका प्रधानमन्त्रीले देउवालाई पाकिस्तान भ्रमणको निम्तो दिनुभयो। सबै भेटमा उहाँहरुबीच यस क्षेत्रका समस्याका साथै क्षेत्रीय सम्बन्ध विस्तारका बारेमा समेत कुराकानी भयो। भेटमा जनता जनताबीचको सम्बन्ध, व्यापार, ऊर्जालगायतका विषयमा छलफल भएको डा भट्टराईले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु