फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवको एक महिनाभित्र चिनियाँ इन्टरनेट नेपाल भित्रिने

(GMT+08:00) 2017-09-23 14:48:11

        हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ। नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले जनाएको छ। शुक्रबार आफ्नो कार्यकाल पूरा भएको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले रसुवागढी नाकाबाट सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो।

        नेपाल टेलिकमले चाइन टेलिकम ग्लोबलसँग गत वर्षको पुसमा इन्टरनेट ब्यान्डविथ ल्याउन व्यावसायिक सम्झौता गरेको थियो। सम्झौताअघि नै ब्यान्डविथ ल्याउने प्रक्रिया भने अघि बढिसकेको थियो। यद्यपि चीनको तिब्बत क्षेत्रमा हिमपात र पहिरोले अप्टिकल जडानमा समस्या भएपछि प्रक्रियामा अवरोध पुगेको थियो।

        गोरखापत्र अनलाइनका अनुसार अहिले चीनको ब्यान्डविथको टेस्टिङ कार्य भइरहेको छ, राजभण्डारीले भन्नुभयो, यहीं महिनाभित्र सञ्चालन गर्ने गरी तयारी पूरा भइसकेको छ । नेपालले अहिलेसम्म इन्टरनेट सेवाका लागि आवश्यक ब्यान्डविथ भारतबाटमात्र खरिद गर्दैआएको छ। चीनसँगको सम्झौताले आपतकालीन परिस्थितिमा इन्टरनेट सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ।

         शुक्रबार आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक राजभण्डारीले फोरजी सेवा सञ्चालन, इन्टरनेटमा आधारित ल्यान्डलाइन सेवा सञ्चालनजस्ता महत्वपूर्ण उपलब्धि एक वर्षबीचमा भएको जानकारी दिनुभयो। त्यस्तै, उहाँले फोरजी सेवा विस्तारका लागि बोलपत्र आह्वानको तयारी भइरहेको बताउनुभयो।

         फोरजी सेवा सञ्चालनपछि टेलिकमको डेटा खपतमा ७० प्रतिशत वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो। एक वर्षको अन्तरमा टेलिकमको भ्वाइसतर्फको ग्राहक आधारमा वृद्धि भइ एक करोड ७६ लाख पुगेको बताउनुभयो। डेटातर्फ अघिल्लो वर्षको तुलनामा १०.७६ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्म ८४ लाख २५ हजार ग्राहक पुगेको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने सरकारी अभियानअनुसार देशका विभिन्न विकट क्षेत्रमा बीटीएस टावर सञ्चालन गरेर सेवा सुरु गर्ने क्रमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो।

         त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौताअनुसार प्रदेश एक, दुई र तीन अन्तर्गतको मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउन छिट्टै पुनः बोलपत्र गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसअघि गत फागुनमा आह्वान गरिएको बोलपत्र सारभूत रूपमा प्रभावकारी नदेखिएकोले पुनः बोलपत्रमा जानुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले कम्पनीको व्यवस्थापन सुधार तथा कर्मचारीको वृत्ति विकासका लागि रिक्त पदमा पदपूर्तिको प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु