फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा थप ३० मेघावाटको विजुली परियोजना तयार हुँदै

(GMT+08:00) 2017-10-06 14:25:24

दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाबाट तीन महिनाभित्र बिजुली उत्पादन हुने भएको छ। पुस १६ गतेभित्र बिजुली उत्पादन हुने गरी उक्त आयोजनाको काम भइरहेको छ।

आयोजनाको इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको सुक्खा परीक्षण (ड्राइ टेस्ट) सम्पन्न भएको छ। सुरुङभित्र पानी हालेर गरिने परीक्षण (वेट टेस्ट) को काम दुई हप्तापछि गरिने आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो। 'वेट टेस्टको तयारीमा जुटेका छौं, डिसेम्बर (पुस १६) भित्र आयोजनाबाट बिजुली निकाल्ने योजना अनुसार काम भइरहेको छ,'उहाँले भन्नुभयो।

आयोजना निर्माणको समय पटकपटक थपिँदै आएको छ। पछिल्लोपटकको कार्यतालिका अनुसार अहिले ०७४ को पुस १६ गते (डिसेम्बर) सम्ममा आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको नागरिकन्यूज डट कमले लेखेको छ।

आयोजनाको काम लक्ष्यभन्दा ६ वर्ष ढिला भएको छ। समयसँगै लागत पनि बढ्दै गएको छ । सुरुमा साढे आठ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । हालसम्म १४ अर्ब ५० करोड खर्च भइसकेको पनि दाहालले जानकारी दिनुभयो। कमजोर भू–बनोटका कारण पनि निर्माणले गति लिन नसकेको आयोजनाको भनाइ छ। आयोजनाको सुरुङ खुम्चिएपछि लामो समय निर्माणको काम रोकिएको थियो।

ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) ले खुम्चिएको सुरुङ खुलाएको छ। खनिसकिएको सुरुङमध्ये कमजोर भू–बनोटका कारण आठ सय ४३ मिटर खुम्चिएको थियो।

आयोजना समयमा निर्माण नहुँदा प्राधिकरणलाई वार्षिक डेढ अर्ब रुपैयाँ घाटा भइरहेको छ। आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख १० हजार युनिट विद्युत् उत्पादन हुन्छ। प्राधिकरणको उपभोक्ता महसुल औसतमा आठ रुपैयाँ ६० पैसा छ। यसका आधारमा एकातर्फ प्राधिकरणले आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५८ करोड ४२ लाख रुपैयाँ गुमाइरहेको छ भने अर्कोतर्फ मुलुकले लोडसेडिङ बेहोरिरहेको छ।

बाँध, विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न सिजिजिसीसित ठेक्का सम्झौता भएको थियो। निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भू–बनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत बढेको छ।

ऊर्जा मन्त्रालय र प्राधिकारणले आयोजना छिटो सकाउन प्राधिकरण, ठेकेदार र पारमर्शदाता कम्पनीलाई ताकेता गरेको छ। राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएकाले जसरी भए पनि तोकिएको समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ।

जानकारी तथा लेखहरु