फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली मुलुक सर्वियामा नेपाली चाउचाउ वाइवाइ - सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ प्लान्टको समुद्घाटन

(GMT+08:00) 2017-10-07 14:09:37

नेपाली चाउचाउ ब्रान्ड वाइवाइ युरोपेली मुलुक सर्वियामा राष्ट्रिय प्राथमिकताका साथ प्रवेश गरेको छ। सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको समुद्घाटन गरेका छन्।

नेपाली लोकप्रिय ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिँदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएका हुन्। सो अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पु-याउने विश्वास व्यक्त गरेको कारोबार दैनिकले लेखेको छ।

वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

समुद्घाटन समारोहमा सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशक निर्वाण चौधरी एवं ग्रुपका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए। अध्यक्ष चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको उल्लेख गर्दै वाइवाइको विश्वब्यापीकरण अभियानमा यो कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरे। उनले सर्वियामा उत्पादीत वाइवाइ युरोपभरको बजारमा वितरण हुने जानकारी दिए।

उक्त प्लान्टमा वाइवाइ उत्पादनका लागि हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेशिनरी प्रयोग गरिएको छ। यस प्लान्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापकहरू रहेका छन् भने चार सयभन्दा बढी सर्वियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्नेछन्।

गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट व्यवसायिक उत्पादन शुरू गरेको थियो। सीजी कर्प ग्लोबलले विश्वका ३० देशमा पूर्वाधार निर्माण, आतिथ्य सत्कार, वित्तीय क्षेत्र, खाद्य तथा पेय, इलेक्ट्रोनिक, जलविद्युत्, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। थप नयाँ क्षेत्रमा लगानी विस्तारको क्रम जारी रहेको छ। सीजी कर्प ग्लोबलमा प्रत्यक्ष रूपमा १० हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको छ। यस ग्रुपले विश्वब्यापी रूपमा १ सय २२ कम्पनी र ७६ ओटा ब्राण्ड व्यवस्थापन गरिरहेको उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु