फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय टेलिफोन कल अनुगमनको तयारी

(GMT+08:00) 2017-10-07 14:13:20

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ। पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको 'ट्राफिक'अनुगमन गर्ने तयारी गरेको हो। यसका लागि प्राधिकरणले सेवा प्रदायकसँग सहकार्य गरी केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिएको गोरखापत्रअनलाइनले लेखेको छ।

सफ्टवेयर जडानपछि अन्तर्राष्ट्रिय तथा स्थानीय कलको वास्तविक तथ्याङ्कसहित आम्दानी घट्नुको कारण पत्ता लाग्ने अर्यालले जानकारी दिनुभयो।

सञ्चालनमा रहेका छओटा दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कलबापत प्राप्त गर्ने कुल आम्दानी गतवर्ष घटेको प्राधिकरणको तथ्याङ्क छ। यससम्बन्धमा व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको यही असोज ९ गते बसेको बैठकले चासो जनाउँदै अन्तर्राष्ट्रिय कलको अनुगमन गर्न निर्देशन पनि दिएको थियो।

प्राधिकरणले पहिलोचरणमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने र दोस्रो चरणमा मात्रै आवश्यक हार्डवेयर र सफ्टवेयर जडान गर्ने योजना बनाएको छ। कलको तथ्याङ्क सङ्कलनका लागि सबै सेवाप्रदायकको प्रणालीमा हार्डवेयर तथा सफ्टवेयर जडान गर्ने र त्यसलाई केन्द्रीय प्रणालीमा राख्ने प्राधिकरणले जनाएको छ।

यससँगै प्राधिकरणले सोही प्रणालीमार्फत नेपाल भित्रने अवैध कलको पनि तथ्याङ्क राख्ने भएको छ। कल बाइपासका रूपमा चिनिने यस्ता अवैध कलपत्ता लगाउने गरी केन्द्रीय प्रणाली तयार गरिने अर्यालले जानकारी दिनुभयो। यसै प्रणालीमार्फत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कलको गुणस्तर निर्धारणको पनि काम हुने प्राधिकरणले जनाएको छ।

जानकारी तथा लेखहरु