फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बढ्दैछन् आन्तरिक पर्यटक

(GMT+08:00) 2017-10-09 17:46:42

पर्यटकीय सिजन सुरु हुँदै गर्दा नेपालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। विशेषगरी दसैँतिहारजस्ता चाडपर्वमा हुने लामो बिदाका कारण बढेको पारिवारिक घुमघामको प्रवृत्तिले प्रमुख पर्यटकीय क्षेत्रका होटल व्यस्त बनेका हुन्। विदेशी पर्यटकले समेत घुमघामका लागि रोजाइँमा पार्ने यो समयमा आन्तरिक पर्यटकको चापबाटै पर्यटन व्यवसायी उत्साहित देखिएका छन्। अक्टोबर तथा नोभेम्बरमा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने गरेको तथ्याङ्क छ।

उपयुक्त मौसम तथा पारिवारिक भेटघाटको अवसर मिल्ने भएकाले पनि चाडपर्वको बिदामा नेपालीबीच स्वदेशमै घुम्ने प्रचलन बढेको गोरखापत्रअनलार्इनले लेखेको छ। यस्तै प्रचलनका कारण पर्यटकीयस्थलका होटलले विशेष छुटसहितका प्याकेज पनि सार्वजनिक गरेका थिए। पर्यटकीय गन्तव्यसम्म पहुँच सम्भव बनेपछि पछिल्लो समय मनाङ, मुस्ताङ, रारा, कालिन्चोकलगायतका क्षेत्रमा पनि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ। पूर्वका इलाम, पाँचथरलगायत जिल्लामा पनि यतिबेला आन्तरिक पर्यटक घुमघामका लागि निस्कने गर्छन्।

दसैँको टीका सकिएपछि आन्तरिक पर्यटकको चाप पोखरामा अत्यधिक बढेको क्षेत्रीय होटल सङ्घ पोखराका अध्यक्ष भरत पराजुलीको भनाइ छ। उनका अनुसार भूकम्पपछि यस वर्ष पोखरामा सबैभन्दा धेरै आन्तरिक पर्यटक भित्रिएका छन्। पोखरालाई आधार मानेर युवाबीच मनाङ, मुस्ताङजस्ता ठाउँमा घुम्ने प्रचलन बढ्न थालेपछि त्यस क्षेत्रका होटलमा यो समयमा चाप बढेको हो। यसबाहेक पारिवारिक घुमघामका लागि पोखरा प्रमुख रोजाइमा रहेकोले पनि आन्तरिक पर्यटकको सङ्ख्या बढेको पराजुलीको भनाइ छ।

चितवनमा पनि दसैँ आसपासमा आन्तरिक पर्यटकको चाप उत्साहजनक रहेको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले बताएका छन्। अघिल्ला वर्षको तुलनामा आन्तरिक पर्यटकको चाप बढ्दै गएको उनको भनाइ छ। ट्रेकिङ, पर्वतारोहण सकेर फर्कने विदेशी पर्यटकको रोजाइमा चितवनका होटल पर्ने गर्छन्।

जानकारी तथा लेखहरु