फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यो वर्ष पनि तिहारमा लोडसेडिङ नहुने

(GMT+08:00) 2017-10-10 16:21:12

गत वर्षजस्तै यसपालि पनि तिहारमा लोडसेडिङ नहुने भएको छ। वर्षभरि नै सबैभन्दा बढी बिजुली खपत हुने चाडबाडमा माग–आपूर्ति सन्तुलन गरी लोड व्यवस्थापन गर्न सक्षम भएकाले तिहारलगायत हिउँदमा लोडसेडिङ भोग्नुनपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएको नयाँ पत्रिकाले लेखेको छ।

निर्देशक घिसिङले गत वर्षभन्दा यो वर्ष धेरै विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको तथा प्राधिकरणको चुहावट नियन्त्रण र व्यवस्थापकीय सुधारका कारण पनि यसपालि लोडसेडिङ नगरेर देशै झिलिमिली बनाउने बताएका छन्।

तिहारका बेलामा कलकारखाना, उद्योग बन्द हुने कारण पनि समस्या नहुने प्राधिकरणको ठम्याइ छ। अहिले देशको विद्युत् ब्याकअपका रूपमा लिइने कुलेखानीमा पानीको सतह औसत मापकभन्दा माथि रहेको र यसले विद्युत् लोड धेरै भएको समयमा पूर्ति गर्न सहज हुने प्राधिकरणले जनाएको छ।

गत वर्षको जस्तै चाडबाड तथा सुक्खा यामलाई ध्यान राखेर 'पिक टाइममा' समेत कुलेखानी सञ्चालन नगरी जलाशय भरिएको अवस्थामा राखिएको छ।

हाल प्राधिकरणले विद्युत्को माग र आपूर्तिलाई 'नेक टु नेक' वितरण गरिरहेको र तिहारका केही दिनको पिक लोडको समयमा धेरै विद्युत् खपत हुने उपकरण सकेसम्म प्रयोगमा नल्याएमा लोड व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष २ सय मेगावाट बिजुलीको माग बढेको उनले बताए। निजी क्षेत्र र सरकारको संयुक्त पहलबाट यो वर्ष करिब १ सय ५० मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिने भएकाले ढुक्कसँग चाडबाड मनाउनसमेत उनले आग्रह गरेका छन्।

प्राधिकरणले गत साउनदेखि हालसम्म चार प्रतिशत विद्युत् चुहावट घटाएको छ। त्यस्तै पूर्ण क्षमतामा आयोजना सञ्चालनमा ल्याइएका कारण पनि लोड कम गर्न सहज भएको उनले बताए। प्राधिकरणले हाल भारतबाट ३ सय मेगावाट विद्युत् आयात गरिरहेको छ।

घिसिङका अनुसार हाल 'पिकिङ अपरेसन' गरेर लोडसेडिङ व्यवस्थापन भइरहेको छ। यो काम वर्षैभरि जारी रहन्छ। विद्युत् विकास विभाग र प्राधिकरणबाट पिपिए र वित्तीय व्यवस्थापन गरेर निर्माण अनुमति प्राप्त गरेका आयोजनाद्वारा ३ वर्षभित्र १२ सय मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थप हुने उनले बताए।

जानकारी तथा लेखहरु