फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङबाट ४२ करोडको स्याउ बिक्री

(GMT+08:00) 2017-10-12 15:58:24

'स्याउको राजधानी' उपमा पाएको मुस्ताङबाट यसबर्ष ४२ करोड रुपैयाँको स्याउ बिक्री भएको छ। जिल्ला कृषि विकास कार्यालय मुस्ताङले दिएको जानकारी अनुसार, यसबर्ष ४ सय १५ हेक्टरमा ५३ सय मेट्रिकटन स्याउ उत्पादन भएको छ।

जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले करिब १२ सय हेक्टरमा स्याउ खेती विस्तार भएको र त्यसमध्ये ४ सय १५ हेक्टरमा लगाईएको बिरुवाले फल दिएको बताए। उत्पादन भएको ८० प्रतिशत बजारमा र २० प्रतिशत घर तथा कोसेलीको रुपमा प्रयोग हुने पनि उनले बताए।

उनका अनुसार, किसानहरुले ठेकेदारलाई प्रतिकेजी एक सय रुपैयाँमा स्याउ बिक्री गरेका छन्। जोमसोम, कागबेनी, मुक्तिनाथ, लेते लगायतका जिल्लामा प्रतिकिलो १ सय २० सम्ममा बिक्री हुने स्याउ बेनी, बागलुङ, पर्वत, कास्की र काठमाडौँमा १ सय ५० देखि २ सय रुपैयाँसम्ममा किनबेच भइरहेको अन्नपूर्णपोस्टले लेखेको छ।

यसबर्ष अनुकुल मौसमका कारण गतबर्षको तुलनामा स्याउ उत्पादन बढेको थियो। गतबर्ष ४५ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो। त्यसमध्ये करिब ३५ सय मेट्रिकटन बजारमा गएको थियो। योजना अधिकृत गुप्ताका अनुसार, बर्षेनी स्याउ खेती गर्ने किसानको सँख्या बढ्दै गएको छ र त्यही अनुसार क्षेत्रफल पनि बढ्दै गएको छ।

किसानहरुले स्याउ बिक्रीबाट ५ लाख देखि ३ करोड रुपैयाँसम्म आम्दानी गरेको कृषि विकास कार्यालयले जनाएको छ। मुस्ताङको कोबाङ, टुकुचे, मार्फा, जोमसोम, ठिनी, झोङ, मुक्तिनाथ लगायतका स्थानमा व्यवसायिक स्याउ खेती हुने भएपनि यसबर्ष मार्फा, जोमसोम र ठिनी क्षेत्रबाट मात्रै आधा हिस्सा स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ।

त्यहाँ रेड डेलिसियस, गोल्डेन डेलिसियस, रोयल र रिचाटेड डेलिसियस गरि चार किसिमका स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

जानकारी तथा लेखहरु