फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारत जोड्दै 'चेपाङ मार्ग'

(GMT+08:00) 2017-10-12 15:58:49

मलेखुदेखि चितवन भण्डारा जोडिने 'चेपाङ मार्ग'लाई भारत सीमावर्ती ठोरीबाट चीनको रसुवागढी जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा विस्तार गरिने भएको छ। ठोरीदेखि रसुवागढीसम्मको दूरी १ सय ६८ किलोमिटर छ। यो छिमेकका उत्तरी र दक्षिणी देश जोड्ने सबैभन्दा कम दूरीको सडक भएको र्इकान्तिपुरले लेखेको छ।

मलेखु–भण्डारासम्म ४१ किमिको उक्त 'चेपाङ मार्ग'को स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको हो। यो मार्ग भारतको सीमा ठोरीदेखि चीनको सिमाना रसुवागढी सडकको एक खण्ड हो।

पृथ्वी राजमार्गबाहेक मलेखुदेखि २१ किमि धादिङ र चितवनको लोथरदेखि भण्डारा ४० किमि निर्माणाधीन सडकलाई 'चेपाङ मार्ग'नामकरण गरिएको हो। उक्त सडकको करिडोर वरपर दुवै जिल्लामा एक दर्जनभन्दा बढी रैथाने चेपाङ बस्तीहरू छन्। मलेखुबाट भण्डारासम्मको खण्डलाई चेपाङ मार्ग नामकरण गरिएको छ।

हाल मलेखुबाट मुग्लिन हुँदै नारायणगढको दूरी १ सय ५ किमि छ। त्रिशूली नदी आसपासको भीर छिचोलेर सडक निर्माण गरिएका कारण जोखिम पनि उत्तिकै छ। चेपाङ मार्ग बनेपछि भण्डाराबाट मलेखु पुग्न ४४ किमि छोटो पर्नेछ। उक्त सडक नारायणगढ–मुग्लिन खण्डको विकल्पका रूपमा पनि प्रयोग गर्न सकिनेछ। छोटो दूरीका कारण समय र इन्धनसमेत बचत हुनेछ।

सरकारले १५ करोड रुपैयाँ लागतमा १५ किमि ताल्तीसम्म कालोपत्रे गर्न मलेखुबाट काम सुरु गरिएको छ। चालु आर्थिक वर्षमै उक्त सडक कालोपत्रे गर्ने योजना छ। डिभिजन सडक भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार अल्पसंख्यक र विपन्न चेपाङ समुदायको जीवनस्तर माथि उठाउने उद्देश्यका साथ चेपाङ मार्गको ट्रयाक खोलिएको हो। बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको उनले बताए।

जानकारी तथा लेखहरु