फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपालको अवस्था सुधारोन्मुख

(GMT+08:00) 2017-10-13 16:05:25

         विश्व भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स, जिएचआई) मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ। यो सूचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२औं स्थानमा आइपुगेको छ। दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो छ। खतराजनक वर्गमा रहेको नेपाल १६ वर्षको अवधिमा सुधार भई मध्यमस्तरनजिक पुगेको इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युट (आइएफपिआई) ले सार्वजनिक गरेको सन् २०१७ को रिपोर्टमा उल्लेख छ। नागरिकन्यूज डटकमका अनुसार आइएफपिआईले विभिन्न तथ्यका आधारमा देशहरुलाई अति खतराजनक, खतराजनक, गम्भीर, मध्यम र कम वर्गमा छुट्याउने गर्छ।

          सन् २००० मा खतराजनक वर्गमा रहेको नेपाल पछिल्लो रिपोर्टमा गम्भीर अवस्थामा उक्लेको हो र यो मध्यम स्तरनजिकै रहेको प्रतिवेदनमा उल्लेख छ। पोषणको न्यूनता र बच्चा हुर्काइमा हुने अवरोधमा सुधार गर्दै नेपालले बालमृत्युदर घटाउन उल्लेख्य प्रगति गरेको छ।

       'नेपालले खासगरी सन् २००१ देखि २०११ सम्ममा बालविकासमा हुने अवरोध घटाउन उल्लेख्य सुधार गरेको छ,' रिपोर्टमा भनिएको छ, 'मातृ शिक्षा सुधार, सरसफाइ सुधार, स्वास्थ्य र पोषण कार्यक्रम कार्यान्वयनलगायतमा सुधार देखिएको छ।' दक्षिण एसियाली मुलुकमध्ये भारत सयौं, श्रीलंका ८४, बंगलादेश ८८, पाकिस्तान १०६, अफगानिस्तान १०७औं स्थानमा छन्। खाद्यमा सुधार गर्दै भोकलाई तीव्ररुपमा घटाउन सफल भएका देशमध्ये नेपाल पनि रहेको रिपोर्टले जनाएको छ। 'मध्यम वर्गनजिक रहेका नेपाल, कम्बोडिया, म्यानमार, केन्या, क्यामरुन र टोगोल उल्लेख्य सुधार गर्दै मध्यम स्तरनजिक पुगेका छन्,' रिपोर्टमा भनिएको छ।

         नेपालको विभिन्न सूचकांकमा सुधार भए पनि केही असमानतासमेत रहेको जनाइएको छ। रिपोर्टअनुसार नेपालको राष्ट्रिय बाल विकास अवरोध दर ३७.४ प्रतिशत छ। यस्तो दरसुदूरपश्चिम पहाडमा ६३ प्रतिशत र मध्यपश्चिममा ६४ प्रतिशत छ। नेपालको पहाडी क्षेत्रको अवस्था कमजोर रहेको र त्यहाँ वर्षाको समस्या, खेतीयोग्य जमिनको कमी, घरखर्ची कृषी उत्पादनमा मात्र सीमित रहेको रिपोर्टमा उल्लेख छ। पूर्वी तराई क्षेत्रमा सबैभन्दा कम २५ प्रतिशत बाल विकास अवरोध दर रहेको जनाइएको छ।

         त्यसैगरी नवजात शिशु र बालबालिकालाई खुवाउने अवस्था मध्यपश्चिमका पहाड र सुदूरपश्चिमका पहाडमा कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ। उक्त क्षेत्रका ६ देखि २३ महिनासम्मका बालबालिकामध्ये जम्मा एकचौथाइ बालबालिकाका मात्र आधारभूत आवश्यकता पूरा रहेको प्रतिवेदनमा जनाइएको छ।

          पछिल्लो तथ्यांकअनुसार स्न २००० को तुलनामा विश्वमा २७ प्रतिशतले भोक सूचकांकमा कमी आएको छ । तथ्यांकअनुसार अति खतराजनक वर्गमा एक, खतराजनक वर्गमा ७, गम्भीर वर्गमा ४४, मध्यम वर्गमा २४ र कम वर्गमा ४३ देश परेका छन्।

बेलारुस, बोस्निया एन्ड हर्जगोभिना, चिली, क्रोसिया, क्युवा, इस्टोनिया, कुवेत, लाट्भिया, लिथुनिया, मोन्टेनइग्रो, स्लोभाक रिपब्लिक, टर्की, युक्रेन र उरुग्वे सबैभन्दा राम्रो अवस्था हुने देशमा परेका छन्। सेन्ट्रल अफ्रिकन रिपब्लिक अति खतराजनक वर्गमा छ। त्यसैगरी खतराजनक वर्गमा चाड, सियरालियोन, मदगस्कार, जाम्बिया, यमन, सुडान र लाइबेरिया छन्।

जानकारी तथा लेखहरु