फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा शान्ति र संविधानसँगै लगानीको राम्रो वातावरण

(GMT+08:00) 2017-10-15 17:00:20

नेपालमा नयाँ संविधान जारी भएसँगै शान्ति पनि सुरू भएकाले लगानीको वातावरण रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनका सहभागीहरूले बताएका छन्। सम्मेलनको उद्घाटन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताउनुभयो। उहाँले नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको बताउनुभयो।

कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको विकासमा एनआरएनएको विशेष भूमिका हुने अपेक्षा गर्नुभयो। महराले भन्नुभयो, 'विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासको ऊर्जा बन्ने विश्वास छ।'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनएको मागअनुसार नेपालमा लगानीको वातावरण बनाउन माग गर्नुभयो। एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले देश समृद्ध नभए व्यक्तिगत सफलताको अर्थ नरहने भएकाले आफूहरुले राष्ट्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। असोज ३१ गतेसम्म चल्ने सम्मेलनमा उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

जानकारी तथा लेखहरु