फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मनास्लु हिमाल आरोहीका कारण गोरखा पदमार्गका होटलहरू भरिभराउ

(GMT+08:00) 2017-10-15 18:16:31

मनास्लु हिमाल आरोहण गर्ने आरोही, लार्केपास गर्ने पदयात्री, चुमभ्याली र नुब्रीभ्याली अवलोकन गर्न आएका विदेशी पर्यटकले गोरखाको मनास्लु पदमार्ग आसपास खुलेका होटलहरु भरिभराउ छन्। फ्रान्स, अष्टेलिया, अमेरिका, स्पेनलगायत देशका पर्यटकहरु आरुघाट गाउँपालिकाको सोति बजारदेखि पदयात्रा गरी चुमनुब्री गाउँपालिकाको सामागाउँसम्म पुगेर मनाङ हुँदै लम्जुङको बेशीसहर झर्छन्। नेपालखबर अनलाइनका अनुसार लार्केपास गर्न ११ दिनदेखि २२ दिनसम्मको यात्रा पूर्वनिर्धारित गरिएको हुन्छ।

विदेशी पर्यटक एक्लै मनास्लु क्षेत्र भ्रमण गर्न पाउँदैनन्, पथपर्दशक साथै लैजानुपर्ने हुन्छ। मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार भूकम्पपछि सुस्ताएको पर्यटन व्यवसाय अहिलेको सिजनदेखि मौलाएको छ। मनास्लु पदमार्ग अन्तर्गत धार्चे गाउँपालिकाको माछाखोलास्थित होटल चुमभ्यालीका सञ्चालक प्रदीप गुरुङका अनुसार होटलका कोठाहरु पर्यटकले भरिभराउ छन्।

होटल व्यवसायीले विदेशी पर्यटकलाई प्राथमिकतका साथ बसोबासको प्रबन्ध मिलाउँछन्। अधिकांश पर्यटक होटलमै बास बस्छन् भने केही पर्यटक टेण्ट टाँगेर बस्छन्। बसोबास, खानाको मूल्य स्वदेशी पर्यटकलाई भन्दा केही महंगो विदेशीबाट लिने गरिन्छ। टेण्ट टागेर बस्न रुचाउने पर्यटकहरुले आफूलाई मनपर्ने खानेकुरा भरिया लगाएर बोकाएर ल्याउँछन्।

बिगत एक सातादेखि मनास्लु पदमार्गमा पर्यटकको ताँती छ। सोतिबजारका पाँच वटा होटल भरिभराउ छन्। यसपछिको गन्तब्य लापुबेशीका तीन वटा होटल, माछाखोलाका दश वटा होटल, खोर्लाबेशीका पाँच वटा होटल, तातोपानीका दुई वटा होटल, फिलिमलगायत क्षेत्रका होटलमा पर्यटकको संख्या बाक्लो छ। सिर्दिवासमाथि सामागाउँसम्मका होटलमा पनि पर्यटक खचाखच छन्।

खोर्लाबेशीका होटल सञ्चालक काशीराम गुरुङका अनुसार पर्यटक ल्याउने कम्पनीहरुले अग्रिम होटल बुकिंङ गराउँछन्। एउटा विदेशी पर्यटकले एक दिनमा कम्तिमा तीन हजारको खाने कुरा खान्छ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाले विदेशी पर्यटक गणना गर्न चुमनुब्री गाउँपालिकास्थित सिर्दिवासको जगत र सामागाउँमा केन्द्र राखेको छ। मनास्लु पदयात्रा, आरोहण र अवलोकन गर्न आएका स्वदेशी पर्यटकको संख्या गणना गरिएको छैन।

नेपाल भ्रमण वर्ष सन् १९९८ देखि गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढेको हो। विश्वको आठौं अग्लो शिखर मनास्लु हिमाल आरोहण गर्न स्वदेशी तथा विदेशी आरोहीको आकर्षणले गर्दा पनि पदमार्गमा पर्यटक बढेका हुन्। भूकम्पका बेला भत्किएका पदमार्गका अधिकांश जोखिमयुक्त ठाउँहरु मर्मत गरी सहज आवागमन गर्न सकिने बनाइएको छ।

सडक पहुँच नपुगेको मनास्लु पदमार्ग विदेशी पर्यटकको रोजाइमा पर्छ। मनास्लु पदमार्गमा सात हजार हाराहारीमा पर्यटक पुगेको यसअघिको तथ्याङ्क छ। भूकम्प गएको वर्ष दुई हजार हाराहारीमा मात्रै पर्यटक मनास्लु पुगेका थिए। यसवर्ष पर्यटकको चाप बढेकाले संख्या बृद्धि हुने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु