फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य निर्वाचन आज, नेपालले जित्ने आशा

(GMT+08:00) 2017-10-16 15:46:44

  संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि अमेरिकाको न्युयोर्कमा सोमबार साँझ हुने निर्वाचनमा नेपाल पनि उम्मेदवार छ। राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि सोमबार साँझ नेपाली समयअनुसार ७:४५ मा निर्वाचन सुरु हुनेछ।

एसियन ग्रुपबाट नेपाल, अफगानिस्तान, पाकिस्तान, कतार र मलेसिया गरी पाँच देश प्रतिस्पर्धामा छन्। यीमध्ये चार मुलुक परिषद् सदस्यमा निर्वाचित हुनेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारी यसपटक नेपाल मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित हुनेमा आशावादी देखिएका छन्। परराष्ट्रसचिव शंकरदास बैरागीले परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग लबिङ तीव्र पारिएको बताएको अन्नपूर्णपोस्टले लेखेको छ।

परिषद् निर्वाचनमा एसियन ग्रुपबाट नेपालबाहेक अन्य सबै मुस्लिम मुलुक छन्। विश्वका मुलुकले मुस्लिमबाहेक एसियन ग्रुपबाट नेपाललाई समर्थन गर्ने विश्वास गरिएको छ। संयुक्त राष्ट्रसंघको न्युयोर्कमा जारी ७२ औं महासभाका क्रममा मानवअधिकार परिषद् सदस्यका लागि निर्वाचन हुन लागेको हो।

परराष्ट्र मन्त्रालयले मावअधिकार परिषद् सदस्यका लागि दुई वर्षअघि उम्मेदवारी दिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघको ७२ औँ महासभामा न्युयोर्कमा सम्बोधन गर्दै नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए। नेपालले सन् १९९३ र २००३ मा दुईपटक राष्ट्रसंघ मानवअधिकार आयोगको सदस्य पदमा जितेको थियो। तर, आयोग सन् २००७ मा परिषद्मा रूपान्तरित भएयता नेपाल यस वर्ष पहिलोपटक निर्वाचनमा सहभागी भएको हो।

जानकारी तथा लेखहरु