फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खाद्य सुरक्षामा नेपाल दक्षिण एसियामै सबल

(GMT+08:00) 2017-10-16 15:47:47

भूकम्प, नाकाबन्दी र डुबान तथा बाढीपहिरोको समस्या लगातार भोग्दै आएको नेपालको खाद्य सुरक्षाको अवस्था भने दक्षिण एसियामै सबल देखिएको छ। विश्व खाद्य सुरक्षा दिवसको पूर्वसन्ध्यामा सार्वजनिक 'विश्व भोकमरी सूचकांक (जीएचआई) २०१७' प्रतिवेदन अनुसार विश्वका ११९ मुलुकमध्ये नेपालको स्थान ७२ औंमा छ।

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफरी), कन्सर्न वल्डवाइड र वल्ड हंगर हेल्प संस्थाले विश्वभर भोकमरीको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन्। प्रतिवेदन अनुसार ७२ औं स्थानमा रहेको नेपालले भोकमरी सूचकांकमा २२ अंक प्राप्त गरेको छ। दक्षिण एसियाली मुलुकमा भोकमरीको अवस्था सबैभन्दा धेरै अफगानिस्तान (१०७) र पाकिस्तान (१०६) मा नाजुक छ। त्यसपछिको नाजुक अवस्था रहेको भारत अघिल्लो वर्ष ९७ औं स्थानबाट खस्केर १०० मा पुगेको हो। यो वर्ष भारतले सूचकांकमा ३१.४ अंक प्राप्त गरेको छ।

दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश २६.५ अंकसहित ८८ औं स्थानमा र श्रीलंका २५.५ अंकसहित ८४ औं स्थानमा छ। यस क्षेत्रका माल्दिभ्स र भुटानमा यससम्बन्धी अध्ययन गरिएको छैन भने छिमेकी मुलुक चीन ७.५ अंक ल्याएर २९ औं स्थानमा छ।

प्रतिवेदनले ४.९ वा सो भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरेको छ। त्यसैगरी ५.० देखि ९.९ सम्म अंक प्राप्त गर्ने मुलुक मध्यम, १०.० देखि १९.९ अंक प्राप्त गर्ने मुलुक गम्भीर, २०.० देखि २९.९ अंक प्राप्त गर्ने मुलुक अलार्रमिङ (बढ्दो) र ३० वा सो भन्दा बढी अंक प्राप्त गर्ने मुलुक एक्ट्रिमली अलार्रमिङ (गम्भीर बढ्दो) भोकमरीको अवस्थाका रुपमा चित्रण गर्ने गरिएको कारोबार दैनिकले लेखेको छ।

जानकारी तथा लेखहरु