फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीको दोस्रो महान् चाड तिहार (यमपञ्चक) मंगलबारदेखि सुरु

(GMT+08:00) 2017-10-17 17:20:34
नेपालीको दोस्रो महान् चाड तिहार (यमपञ्चक) मंगलबारदेखि सुरु भएको छ। कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागको पूजासँगै तिहार सुरु भएको हो। बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिन मनाइने काग, कुकुर, गाई (लक्ष्मीपूजा), गोरु (गोवद्र्धनपूजा) र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् मंगलबार चलाख एवं सर्वभक्षी पन्छी कागको पूजा गरिन्छ । यमराजको दूत मानिएको कागले सबैलाई समान दृष्टिले हेर्छ र अन्नबालीमा लाग्ने कीरा-फट्यांग्राहरू खाइदिन्छ भन्ने मान्यता छ। बिहान कागलाई बोलाएर फूलले पूजा गरी खानेकुरा दिने चलन छ । दोस्रो दिन बुधबार कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार परेको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । संस्कृतिविद्का अनुसार कुकुरलाई पनि यमराजको प्रियभक्त र दूतका रूपमा लिइन्छ भने भैरवको वाहन कुकुरले घरको रेखदेख गर्छ । कुकुरलाई पनि बिहानै खानुअघि फूलको माला लगाएर पकाएका परिकार दिने चलन छ।

तेस्रो दिन गाईलाई गौमाता वा लक्ष्मीको रूपमा पुजिन्छ। कार्तिक कृष्ण औंसीको यो दिन बिहान गाईलाई विभिन्न रङ र फूलको मालाले रंग्याइन्छ र परिकार खुवाइन्छ । उक्त रातलाई 'अँध्यारो रात'का रूपमा लिइने परम्परा भएकाले उज्यालो प्रकाशले आलोकित पार्न साँझदेखि लक्ष्मीको आह्वान गरिन्छ। लक्ष्मीलाई ऐश्वर्यको प्रतीक एवं धनधान्यकी देवी मान्दै आइएको छ। साँझ दीपावली गरिन्छ। चौथो दिन, खेतीपातीमा सहयोग गर्ने गोरुको पूजा गरिन्छ। पौराणिक मान्यताअनुसार यस दिन घरघरमा गाईको गोबरले गोवद्र्धन पर्वतको प्रतिमा बनाई सोको पूजा गर्ने चलन छ।

अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका लगाइन्छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हो।

शास्त्रअनुसार बहिनीको घरमा रहँदाबस्दा उनको सत्कारबाट प्रसन्न भई यमराजले बहिनी यमुनालाई वर माग भनेका थिए। यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदीभाइ र दाजुबहिनीको प्रेम र सद्भाव सदा अटल रहनुपर्ने साथै दाजुभाइको आयु, कीर्ति सदा उच्च हुनुपर्ने वरदान मागेकी थिइन्। यमराजले तथास्तु भन्दै मन, वचन र कर्मले शुद्ध चित्त बनाएर भ्रातृपूजा गर्ने र गराउनेको सदा उन्नति हुनेजस्ता वर दिएका थिए।

संस्कृतिविद् जगमान गुरुङले यमपञ्चकका पाँच दिन पाँचवटा धर्म र नीतिले मानव सभ्यता र संस्कृतिको पाँच शृंखलालाई संकेत गर्ने जानकारी दिए। उनका अनुसार यमको अर्थ धर्म अर्थात् विधान वा नीति हो।

जानकारी तथा लेखहरु