फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राजधानी काठमाडौंबाट छिटो तराई–मधेस पुग्ने द्रूतमार्ग निर्माण हुँदै

(GMT+08:00) 2017-10-19 14:58:20
राजधानीबाट तराई–मधेसको निजगढ जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को देखिने गरी काम अघि बढेको छ। द्रुत मार्गका लागि आवश्यक पर्ने उपकरण, भौतिक पूर्वाधार राख्ने, इन्धनको व्यवस्था र काम गर्नेहरू बस्ने स्थानका रूपमा रहेका १० शिविरमध्ये तयार भएका एक शिविर उद्घाटन गर्दै रथि पूर्णचन्द्र थापाले द्रुत मार्गको काम अघि बढिसकेको बताउनुभयो।

ईकान्तिपुर अनलाइनका अनुसार दक्षिणकाली नगरपालिकाको मख्खुबेसीमा रहेको उक्त शिविर काठमाडौंबाट–तराई जोड्ने क्याम्पको दोस्रो पोइन्टमा पर्छ। पहिलो पोइन्ट खोकनामा छ। क्याम्पमा आवश्यक पर्ने इन्धन, उपकरण, विस्फोटक पदार्थ राख्ने बंकरलगायतको अवलोकन गर्दै रथी थापाले भन्नुभयो, 'तीन महिनाभित्र गरिसक्ने काम सेनाले दुई महिना २० दिनमा सम्पन्न गरिसकेको छ। शिविर निर्माणको गतिमा 'फास्ट ट्रयाक' पनि अघि बढ्छ।'

द्रूत मार्ग राष्ट्रिय गौरवका साथै रणनीतिक महत्त्वको आयोजनासमेत रहेकाले यसलाई अघि बढाउन र समयमै जिम्मेवारी पूरा गर्न नेपाली सेना नचुक्ने परियोजनाको अधिकार सम्पन्न निर्देशक समिति प्रमुखसमेत रहेका रथी थापाले भन्नुभयो।

एक सय ३० रोपनीमा फैलिएको उक्त शिविर देखाउँदै थापाले पाँच स्थानमा यस्तै शिविर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। अन्य थप पाँच स्थानमा समेत कामको प्रक्रिया अघि बढेको छ। सबै क्याम्पबाट नजिक रहेका हरेक क्षेत्रमा त्यसको काम भइरहने पनि उहाँले बताउनुभयो।

सरकारले परियोजनाको काम थाल्न भारतीय कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिद गर्ने अधिकार सेनालाई दिएपछि सेनाले आफ्नो कामको प्रगतिलाई पनि बाहिर ल्याएको हो। पहिलो शिविर पत्रकार र स्थानीय अधिकारीको उपस्थितमा उद्घाटन गरिएको थियो।

परियोजना प्रमुख तथा इन्जिनियरिङ विभागका प्रमुख योगेन्द्रबहादुर खाँडले आर्थिक मार्ग र रणनीतिक मार्गका रूपमा द्रुत मार्गलाई चिनाउँदै सेनाले यो मार्गलाई समयमै सम्पन्न गर्ने बताउनुभयो। उहाँले डीपीआरको विषयमा पनि छलफल भइरहेको बताउनुभयो।

काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण मार्ग मानिएको यस परियोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। यसलाई कुनै पनि हालतमा सफल बनाउन आफूहरूले भूमिका खेल्ने दक्षिणकालीका मेयर मोहन बस्नेतले बताउँदै भन्नुभयो, 'काठमाडौंबाट वाग्मती करिडोर पनि मख्खुबेसीसम्म ल्याउन सके अझ राम्रो हुनेछ । यसमा धेरै जग्गा अधिकरणको झन्झट छैन।'

कार्यक्रममा काठमाडौं र ललितपुर जिल्लाका प्रमुखद्वय केदारनाथ शर्मा र महदेव पन्तका साथै रक्षा सहसचिव आनन्दराज रेग्मीले सरकारबाट यो मार्ग अघि बढाउन सेनालाई सबै बाधा फुकाइदिएको बताउनुभयो।

जानकारी तथा लेखहरु