फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज तिहार अन्तर्गत लक्ष्मीपूजा

(GMT+08:00) 2017-10-19 15:00:41

कात्तिक कृष्ण औँसीका दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ। स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भनिन्छ। पूजाकोठा, बुइँगल, अट्टालिका, बरन्डा, भकारी रहेको धनसार लगायतमा बत्ती बालेर उज्यालो गर्दा लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण गराउँछिन् भन्ने जनविश्वास रहिआएको छ।

यसै दिन बिहान गाईलाई लक्ष्मीको प्रतीक मानेर गाईपूजा गर्ने र राति दीपावलीसहित लक्ष्मीपूजा गर्ने प्रचलन छ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार यो दिन नराम्रो कार्य गर्दा वर्षैभरि पिर्छ भन्ने ज्योतिषीय मान्यता छ। लगनखेलको महालक्ष्मी स्थान, भक्तपुरको नौतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मी, काठमाडौँ न्युरोडमा रहेको लक्ष्मी मन्दिर, तनहुँ बन्दीपुरको लक्ष्मी मन्दिरमा यो दिन मेला लाग्छ।

यसै दिन जनैपूर्णिमामा लगाइएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी तर्ने मनोकाङ्क्षा गरिन्छ। यसै दिन महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती परेको छ। स्व. देवकोटाको १९६६ सालमा आजकै दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो।

यसैबीच महाकवि स्व. देवकोटाको जीवनीमा आधारित वृत्तचित्रको बजारमा निकै माग छ। प्रसिद्ध चलचित्र छायाँकार मञ्जुकुमार श्रेष्ठले छायाङ्कन गर्नुभएको यो वृत्तचित्रको प्रकाशित छ सय प्रति डीभीडी बिक्री भइसकेको छ। चलचित्र छायाँकार श्रेष्ठले देवकोटाको जीवनीमा आधारित ठूला पर्दाका चलचित्र नै तयारी गर्न पहल हुन आवश्यक रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु