फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा पर्यटकका लागि परम्परागत वग्गी

(GMT+08:00) 2017-10-19 15:01:27

पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्स राइडिङ प्रालिले आइतबारदेखि वग्गी सेवा सञ्चालनमा ल्याएको छ । पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई वग्गी चढ्ने अवसर प्रदान गर्ने सोचका साथ वग्गी सेवा सञ्चालन गरिएको वग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक शान्त शर्माले बताउनुभयो।

"नेपालमा राजा महाराजा तथा उच्च पदस्थ अधिकारीले मात्र वग्गी चढ्ने परम्परा थियो," उहाँले भन्नुभयो, "आगामी दिनमा सर्वसाधारण र पर्यटकले पनि यसको भरपुर मनोरञ्जन लिन सकून् भनेर सेवा सुरू भएको हो।"

वग्गी सेवा सञ्चालनको एक समारोहका बीच उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव एवं रासस सञ्चालक सदस्य गोविन्दसिंह भण्डारीले पर्यटकीय नगरी पोखरामा वग्गी सेवा सञ्चालनले यहाँका पर्यटकीय आयाममा नयाँ इँटा थपेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासु त्रिपाठीले वग्गी सेवा सञ्चालनबाट पर्यटक थप लाभान्वित हुने बताउँदै यसलाई सुव्यवस्थित एवं प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। वग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक मानबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा रासस प्रशासन महाशाखा प्रमुख सोमनाथ लामिछाने, नेपाल ह्यान्डग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसन पोखराका महासचिव शैलेन्द्र राउत, पोखराका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति थियो।

जानकारी तथा लेखहरु