फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षायाम सकिएसँगै पूर्वी नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

(GMT+08:00) 2017-10-21 13:31:57

बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ। जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्योदयको दृश्यावलोकनको उत्कृष्ट गन्तव्य अन्तु र सीमावर्ती पर्यटकीयस्थलमा भारतीय, पश्चिमा मुलुक र आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ।

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीयवासी मनोज भट्टराईले बताउनुभयो। चाडबाडको समय तथा खुला मौसम भएकाले यहाँका होटल अगाडि नै बुक भइसकेका छन्। सन्दकपुरबाट कञ्चनजंघा, सगरमाथा, कुम्भकर्णलगायत हिमशृङ्खलासँगै सूर्योदय दृष्यावलोकन तथा नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ।

पूर्वको हरियाली कन्याममा पनि बनभोज खाने र घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। यहाँ दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्। सिमसार क्षेत्र माईपोखरी घुम्न आउनेको संख्या पनि उल्लेख्य छ। बरबोटे हुँदै १३ किमी सडक पार गरेर पुगिने माईपोखरीमा दैनिक ३०० भन्दा बढी पर्यटक आउने स्थानीयवासी कमल मुखियाले बताउनुभयो।

यहाँ विश्वमै लोपोन्मुख गलैँचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन्। विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुरजस्ता पशुपक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन्। कन्काई माईको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको छ।

जानकारी तथा लेखहरु