फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको ठमेल अब 'सवारीसाधनमुक्त क्षेत्र'

(GMT+08:00) 2017-10-23 15:25:28

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीसाधनमुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको छ। ठमेललाई व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आइतबारदेखि सवारीसाधनमुक्त क्षेत्र बनाइएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रलाई भेहिकल फ्री जोन बनाइएको हो। ठमेल क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनलाई विभिन्न स्थानबाट सञ्चालनमा रोक लगाइएको हो।

महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार त्रिदेवी मार्गबाट ठमेलतर्फ आउने सवारीसाधनले मात्र प्रवेश पाउनेछन् भने अन्य मार्गबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ। ज्याठा र त्रिदेवी सडकखण्डलाई दुईतर्फी सञ्चालन गरिने भएको छ। क्षेत्रपाटीबाट जेपी मोड, ठँहिटी र ठमेल आउने सडकमा दुईपांग्रे सवारीसाधनलाई मात्रै दुईतर्फी सञ्चालन गर्न दिइनेछ।

ठमेलबाट बाहिर जाने सवारीसाधन सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवती बहाल, अमृतमार्ग, टँहिटीबाट दाहिनेतर्फ भने जान पाउनेछन्। ठमेल क्षेत्र भित्रको सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने र ट्राफिक संकेतको व्यवस्थापन गरी सवारी आवागमन अझ प्रभावकारी बनाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले बताउनु भयो।

ठमेल महानगरपालिकाको वडा नम्बर १६, १७, २६ र २७ पर्छन्। झन्डै एक दशकअघि पनि ठमेललाई भेहिकल फ्री जोन बनाउन पहल गरे पनि महानगरपालिकाले सकेको थिएन। आइतबारदेखि सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारीसाधनले मात्र प्रवेश पाउने महाशाखाका अपरेसन इन्चार्ज मधुसूदन सिलवालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायत अत्यावश्यक सवारीसाधनको प्रवेशमा रोक लगाइनेछैन बाँकी सबै सवारीलाई आजैदेखि प्रवेशमा रोक लगाएका छौं।'

सबैलाई सूचना नभएको र अभ्यासको कमीका कारण बिहान उक्त क्षेत्रमा सवारीसाधन चले पनि मध्याह्न १२ बजेदेखि मात्र सवारीसाधन प्रवेशमा रोक लागेको थियो। सिलवालका अनुसार ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ भने वन-वेमा पनि विशेष कडाइ गरिनेछ। जनचेतनाका लागि ट्राफिकले अहिले विभिन्न ठाउँमा ट्राफिक चिह्न राखिरहेको उहाँले जानकारी दिनुभयो।

वडा नम्बर २६ का वडाध्यक्ष खेम तिवारीले ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र (वाकिङ स्ट्रिट) बनाउन नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम-दक्षिणका क्षेत्र समेटेर भेहिकल फ्री जोन घोषणा गरिएको जानकारी दिनुभयो। भेहिकल फ्री जोन घोषणा गरिए पनि आजसम्म ती क्षेत्रमा पार्किङको टुंगो लाग्न सकेको छैन। उहाँले भन्नुभयो, 'पुरानो शिक्षा मन्त्रालय रहेको केशरमहलमा पार्किङ गर्न शिक्षा मन्त्रालय, समाजकल्याण परिषद्, छायादेवी कम्प्लेक्स र जेपी स्कुल (अन्डरग्राउन्ड पार्किङ भएकाले) लगायतसँग छलफल अघि बढेको र बढाउने तयारी भएको छ।'

नेपाल होटल एसोसिएन (हान) का महासचिव विनायक शाहले सवारीसाधनमुक्त क्षेत्र सही भए पनि व्यवसायीको अर्बौंको लगानीमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'सवारी प्रवेशका लागि मापदण्ड बनाएर कुन समयमा कस्ता सवारीलाई कति र कसरी प्रवेश गराउने निक्र्योल गर्नुपर्छ। पर्यटकलाई होटल पुग्न सहज होस्।' पर्यटन व्यवसायी सुमन पाण्डेले विमानस्थलदेखि ठमेल पुग्ने पर्यटकलाई ड्रप जोनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो।

पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले हाल होटल व्यवसायी र सवारीसाधन रोकिएका क्षेत्रको गुनासो पनि सरोकारवालाले सुन्नुपर्ने बताउनुभयो। ठमेल पर्यटन विकास परिषद्का महासचिव भवी शर्माले होटल व्यवसायी र ड्रप जोनमा पर्ने असरबारे सरोकारवालासँग छलफल गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'गुनासा पनि छन् तिनको समाधान गर्न भोलि कुन सवारीसाधनलाई के कस्ता पास कसरी दिने र ड्रप जोनलाई कसरी व्यवस्थित बनाउने टुंगो लगाउँछौं।'

प्रवेश निषेध गरिएका क्षेत्रका पसल तथा होटलमा समान ओसारपसार गर्न ती सवारीसाधनलाई भने राति १० बजेदेखि बिहान ५ बजेसम्म चल्न दिइनेछ भने उक्त क्षेत्रभित्र घरधनीलाई सवारीसाधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना ट्राफिकसँग छ। महानगरपालिकाले ठमेललाई 'वाकिङ स्ट्रिट' बनाउन होटल मनाङदेखि काठमाडौं गेस्ट हाउससम्म साथै वैशाली होटलदेखि ठमेल मार्ग (भगवानपाउ मार्ग) सम्म सडक कालोपत्रे गर्दै छ।

जानकारी तथा लेखहरु