फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाडबाडमा रमाए पर्यटक

(GMT+08:00) 2017-10-23 15:29:54

चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटक शनिबार दिनभर टीका लगाउन व्यस्त भए। प्राय: होटलमा बस्ने पर्यटकको निधारमा सप्तरंगी टीका, घाँटीमा मखमली, सयपत्रीको माला र शिरमा ढाका टोपी ढल्किएको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपाली संस्कृतिबारे जान्ने इच्छा राख्दै पर्यटकहरूबीच टीका थाप्न प्रतिस्पर्धामा थिए। 'सौराहा घुम्न आएका २ जना पर्यटकले मैसँग गएर घरमा बहिनीसँग टीका लगाए,' सौराहास्थित होटल पार्क ल्यान्डका आशिष रेग्मीले भन्नुभयो, 'टीका लगाउन पाउँदा खुसी भए।' छुट्टाछुट्टै देशका महिला/पुरुष पर्यटकलाई अश्लेषा रेग्मीले टीको लगाइदिइन्। मोरोसियाबाट आएका घुरुब्बाले अर्को वर्षसमेत टीको लगाउन नेपाल आउने भन्दै प्रतिबद्धता जनाउनुभयो। 'रमाइलो लाग्यो,' घुरुब्बाले भन्नुभयो, 'अर्कोपटक तिहारमा टीको लगाउन सौराहा नै आउने हो।'

उहाँले चित्रसारी पुगेर टीको लगाउनु भएको हो। मखमली, सयपत्री फूलको माला र ढाका टोपी लगाएर उहाँले नेपाली परम्पराअनुसार दक्षिणा पनि दिनुभयो। टीका लगाएपछि सबैजना फोटोसमेत खिचेका थिए। उता केही पर्यटकहरू भने रत्ननगर नगरपालिका ८ स्थित गठौलीमा रहेको थारू होमस्टेमा गएर टीका लगाए। टीका लगाउन पाउँदा सबैको मुहारमा खुसी छाएको थियो। त्यस्तै सौराहाको प्रवेशद्वारमा रहेको होटल पार्क इनमा आन्तरिक तथा बाहय पर्यटकको भीड थियो।

सबै पर्यटक टीका लगाएर हात्ती सफारी गर्न निस्किएका थिए। 'नेपाली परम्पराअनुसार टीका लगाउन पाउँदा खुसी लागेको भन्दै सबै पर्यटक हर्षित देखिन्थे,' होटल पार्क इनका सञ्चालक दीपेश चौधरीले भन्नुभयो, 'हाम्रो संस्कृतिबारे विदेशीलाई जानकारी गराउन पाउँदा खुसी लागेको छ।' उहाँले विदेशीले नेपाली कला संस्कृतिबारेमा प्रत्यक्ष थाहा पाएको र आगामी वर्षहरूमा समेत आउने बाचा गरेको बताउनुभयो। उहाँका अनुसार ८ जना विदेशीले टीका लगाएर आपसमा खुसी साटासाट गरे।

टीका लगाइदिने चेलीले सगुन दिइन्। विदेशीले दक्षिणा दिएर फोटो खिचाए। अहिले पर्यटकीय सिजन सुरु छ। घुम्न आउने पर्यटकको संख्या बढदै गएको छ। तिहारको बेला सौराहा आउने पर्यटकको निधार खाली भएन। 'संस्थागत रूपमा कार्यक्रम गरेर विदेशीलाई नेपाली संस्कृतिबारे जानकारी गराउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भाइटीका लगाउने सोच थियो,' क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, 'योपटक सम्भव भएन, अर्कोपटक संस्थागत रूपमा कार्यक्रम गर्ने योजना छ।'

जानकारी तथा लेखहरु