फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकका लागि पोखरामा लाइट हेलिकप्टर'

(GMT+08:00) 2017-10-24 15:19:07

पर्यटकका लागि पोखरामा हेली एयर नेपालले लाइट हेलिकप्टर सञ्चालनमा ल्याएको छ। हेली एयरले व्यवसायिक उडान सुरु गरेसँगै पर्यटकका लागि नयाँ 'प्रोडक्ट' थपिएको कान्तिपुर अनलाइनले लेखेको छ। फ्रान्समा निर्मित लाइट हेलिकप्टरमा एक पाइलट र अर्को एक यात्रु बस्न मिल्छ। हेलीका प्रबन्ध निर्देशक रोनन लामिछानेका अनुसार पोखरालाई आधार बनाएर हाल दुईवटाले व्यावसायिक उडान थालेका छन्। दैनिक ७/८ उडान भइरहेको हेलीले जनाएको छ। यो हेलिकप्टरभन्दा सानो र हाल पोखराको आकाशमा उडिरहेको अल्ट्रालाइटभन्दा ठूलो छ। विशेषगरी यसमा विदेशी पर्यटक बढी आकर्षित भएको लामिछानेले बताए। 'यात्रुमध्ये विदेशी पर्यटक ९० प्रतिशत र बाँकी आन्तरिक छन्,' लामिछानेले भन्नुभयो, 'पोखरा र हिमशृंखलाको दृश्यावलोकन गर्ने चाहनाले दैनिक बुकिङ भइरहेको छ।' यो दक्षिण एसियामै पहिलो रहेको प्रालिको दाबी छ।

यो पेट्रोलबाट चल्छ। हेलीले १५ मिनेटको १ सय ४९, आधा घन्टाको २ सय ४९, एक घण्टाको ३ सय ९८ र डेढ घण्टाको ५ सय ४८ अमेरिकी डलर प्याकेज गरेको छ। यो दर स्वदेशी र विदेशी पर्यटकका लागि समान हो। हेलिकप्टर लगातार तीन घण्टा (८ सय किलोमिटर) उड्न सक्छ। १८ हजार फिटसम्मको उचाइमा पुग्ने भए पनि हाल १२ हजार फिट उचाइमा मात्रै उडान भइरहेको छ।

त्यसमाथि उडाउँदा अक्सिजन चाहिने भएकाले त्यत्ति नै उडाइएको हो। हावाहुरीमा पनि नहल्लिने यो विशेष गरी पर्वतीय दृश्यावलोकनमा बढी प्रयोग हुन थालेको छ। हेलिकप्टरबाट ३ सय ६० डिग्रीको कोणबाट दृश्य देखिने भएकाले पर्यटक तस्बिर तथा भिडियो खिचेर रमाउने गरेको लामिछानेले बताउनुभयो। दुईवटा इन्जिन हुने र समस्या परेको बेला कुनै पनि ठाउँमा ल्यान्ड गर्न सकिने यसको विशेषता छ। हिमाली दृश्यावलोकन गर्न चाहनेका लागि यो एउटा उपयुक्त माध्ययम हुने र साहसिक पर्यटनमा यसले सकारात्मक भूमिका खेल्ने पर्यटन व्यवसायी बताउँछन्।

प्याकेज अनुसार पोखरा उपत्यका, सराङकोट, फेवाताल, शान्ति स्तुपा, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमशृंखला, पन्चासे, धम्पुसलगायत पर्यटकीय केन्द्रहरूको अवलोकन गर्न पाइन्छ। पोखरा पर्यटन परिषद् उपाध्यक्ष भरतराज पराजुलीले हेलिकप्टरका कारण पर्यटकको बसाइ लम्बिनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिनुभयो। 'साहसिक पर्यटकीय गतिविधिको केन्द्र पोखरामा यो थपिएको छ,' उहाँले भन्नुभयो, 'पर्यटन क्षेत्रमा नौलो प्रोडक्ट बनेको छ।'

जानकारी तथा लेखहरु