फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङबाट ५३ करोडको स्याउ बाहिरियो

(GMT+08:00) 2017-10-25 14:43:37

यो वर्ष मुस्ताङबाट ५३ करोड रुपैयाँको स्याउ बाहिरिएको छ। कृषि विकास कार्यालयले यहाँको ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

सरकारले कृषि सामग्री अनुदान र उत्पादनका कार्यक्रम ल्याएपछि यस वर्ष १० प्रतिशतले स्याउ उत्पादन बढेको हो। पछिल्लो १० वर्षको अवधिको तथ्यांकअनुसार यो वर्ष स्याउ उत्पादन बढेको कार्यालयले जनाएको छ। हालसम्म ५३ सय टन स्याउ बिक्रीका लागि मुस्ताङ बाहिर पठाइसकिएको कार्यालयको विवरणमा उल्लेख छ। उत्पादित स्याउ दसैं र तिहारको अवसर पारेर राजधानीलगायत ठूला सहरमा ठेकेदारहरूले लगेका हुन्।

दसैंमा मात्र ४१ करोड रुपैयाँ मूल्यको स्याउ मुलुकका विभिन्न सहरमा पठाइएको थियो। तिहारसम्म थप १२ टन स्याउ बाहिरिएको कार्यालयका सूचना अधिकृत शिवपूजन गुप्ताले जानकारी दिनुभयो। ठेकेदारले दसैंदेखि नै धमाधम स्याउ टिप्दै ठूला बजारमा पुर्‍याउन थालेका थिए। कार्यालयका अनुसार अघिल्ला वर्षभन्दा यसपालि करिब महिना दिनअघि नै स्याउ बिक्री सुरु गरिएको हो। यसपटक दसैँ छिट्टै आएकाले ठेकेदारले कलिला स्याउ टिपेर बिक्री गरेको कृषि प्राविधिकको भनाइ छ।

मुस्ताङमा स्याउ बिक्री वितरणका लागि ठेकेदारले पहिल्यै नै कृषकका बगैंचा किनिसकेका हुन्छन्। ठेकेदारले जुन मौकामा बढी मूल्य त्यसै बेला बिक्री गर्छन्। अधिकृत गुप्ताले भन्नुभयो, 'यसपालि ५३ करोड मूल्य बराबरको स्याउ बाहिरिएको छ।' गत वर्षको तुलनामा हाल प्रतिकेजी २० रुपैयाँ मूल्य बढेको उहाँले बताउनुभयो। 'गत वर्ष थोक मूल्य प्रतिकेजी बढीमा ८० रुपैयाँमा ठेकेदारले खरिद गरेका थिए, यसपालि सय पुगेको छ,' उहाँले भन्नुभयो। गत वर्ष मुस्ताङमा ४ हजार ३ सय टन स्याउ उत्पादन भएको थियो। स्याउ लगाएका क्षेत्रमा पर्याप्त हिउँ परेको र उपल्लो मुस्ताङमा स्याउ क्षेत्र विस्तार भएकाले यसपालि उत्पादन बढेको उहाँले बताउनुभयो।

ठेकेदारले साउनमै स्याउको बगैंचा किनेर कृषकले पैसा बुझिसकेका हुन्छन्। पोखरा, धादिङ, काठमाडौंका व्यापारी आएर बारीबाट स्याउ टिपेर लाने गरेका छन्। 'हामीले पहिल्यै ठेक्कामा दिन्छौं, घाटा नाफा हामीलाई मतलव हुन्न,' मार्फा ९ का कृषक प्रेमबहादुर तामाङले भन्नुभयो, 'हामीले हाम्रो लगानी र नाफा ठेकेदारसँग उठाउने हो।' यो वर्ष मौसम ठीक भएकाले स्याउ उत्पादन बढेको उहाँले सुनाउनुभयो। १५ वर्ष अघिसम्म मुस्ताङको तल्लो गाउँ लेतेमै लटरम्म स्याउ फल्थे। हाल यहाँ स्याउको एउटा पनि बिरुवा छैन।

मौसम परिवर्तनले तल्लो मुस्ताङमा स्याउ फल्न छोडेको हो। सरकारले उपल्लो मुस्ताङका गाउँहरूमा स्याउ उत्पादन गर्न विभिन्न कार्यक्रम लागू गरेको छ। लोमान्थाङ र घमी गाउँपालिकालगायतका स्थानमा स्याउ क्षेत्र विस्तार गरिएकाले अबको केही वर्षमा उत्पादन हवात्तै बढ्ने कृषि अधिकृत गुप्ताले जानकारी दिनुभयो। उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, सुर्खाङ, छोन्हुप गाउँहरूमा स्याउ उत्पादनका लागि कार्यालयले यसै वर्षदेखि सुरुवात गरेको छ।

जानकारी तथा लेखहरु