फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझै बढेन अलैंचीको मूल्य

(GMT+08:00) 2017-10-25 14:48:38

कालो सुनको उपमाले चिनिएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ। पूर्वी पहाडका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैँचीको मूल्यमा सुधार नआएपछि किसान चिन्तित भएका अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

विगत वर्षमा जस्तै चाडपर्वको बेला मूल्यमा सुधार आउने आसमा रहेका किसान दसैँतिहारजस्ता मुख्य चाड सकिँदा पनि अलैँचीको मूल्यमा सुधार नभएपछि चिन्तित बनेका हुन्। केही वर्षअघिसम्म जिल्लामै प्रतिमन (४० किलो) एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँची अहिले ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो वर्षभन्दा ५० प्रतिशत मूल्यमा कमी आएको अलैँची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालको भनाइ छ। 'मूल्यमा सुधार आउने छाँटकाट छैन', उनले भन्नुभयो 'सुधार हुनुको साटो मूल्य निरन्तर ओरालो लागेको छ।'

मेची पहाडका जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा कृषि उपजको निर्यातमा अलैँचीले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। किसानको प्रतिष्ठासँग जोडिएको अलैँचीको मूल्यमा सुधार नआएपछि किसान चिन्ताले पिरोलिएका हुन्। १० वर्षयताकै कम मूल्यमा अलैँचीको कारोबार भएको अलैँची व्यवसायीहरूको भनाइ छ। अलैँचीको मूल्यमा आएको निरन्तरको गिरावटले किसानजस्तै व्यापारी पनि मारमा परेको फिदिमका अलैँची व्यवसायी नरेन्द्र अधिकारीले बताउनुभयो। नयाँ उत्पादन सुरु भएसँगै अलैँचीको मूल्यमा झनै गिरावट आएपछि कृषक र व्यापारी मारमा परेका हुन्। चाडबाडको मुखमा मूल्यमा सुधार होला र पुरानो उत्पादनको अलैँची पनि बिक्री गरौंला भनेर बसेका किसानलाई ओरालो लागेको अलैँचीको मूल्यले झनै निरास बनाएको हो।

तीन वर्षयता अलैँचीको मूल्यमा निरन्तर गिरावट आएको हो। मूल्यमा सुधार भएपछि अलैँची बिक्री गरौँला भनेर तीन वर्षदेखि अलैँची बिक्री नगरेको किसानहरू बताउँछन्। 'तीन वर्षदेखि अलैँची बिक्री नगरी राखेको छु', सिदिनका किसान चन्द्रप्रसाद आङ्बोले भन्नुभयो, 'यो साल त झनै मूल्यमा गिरावट आयो।'

पाँचथरसहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुन्छ। यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिक टनभन्दा धेरै अलैँची विभिन्न मुलुकमा निर्यात हुने गरेको छ। अलैँची व्यवसायी महासंघको तथ्यांकअनुसार अलैँची निर्यातबाट वार्षिक ६ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको छ। यसमध्ये पाँच अर्ब रुपैयाँ किसानको हातमा पुग्ने व्यवसायी बताउँछन्। पाँचथर, ताप्लेजुङ, इलाम र संखुवासभावमा उल्लेख्य मात्रामा अलैँची उत्पादन हुन्छ। नेपालबाट निकासी भएको ९९ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ।

जानकारी तथा लेखहरु