फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मूल्यवृद्धि ३.४ प्रतिशत

(GMT+08:00) 2017-10-30 16:34:01

        गएको साउन महिनाको अन्त्यतिर मनसुनी वर्षाले सिर्जना गरेको बाढी, पहिरो र डुबानले मूल्यवृद्धिमा चाप परेको छ। चालू आर्थिक वर्षको साउनमा २.३ प्रतिशत रहेको मूल्यवृद्धि भदौमा ३.४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

         तर गत आव २०७३/७४ को भदौको तुलनामा यो मूल्यवृद्धिदर कम हो। गतवर्षको सोही अवधिमा मूल्यवृद्धि ७.९ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार खाद्यवस्तुतर्फ दलहन तथा गेडागुडीको मूल्यमा २३.७ प्रतिशत र मसलाको मूल्यमा ४.२ प्रतिशतले कमी आएका कारण समग्र खाद्यवस्तुको मूल्यवृद्धि अघिल्लो वर्षभन्दा न्यून रहन गएको हो। यो अवधिमा हिमालमा ५.४ प्रतिशत, तराईमा ३.८ प्रतिशत, पहाडमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.८ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धिदर हिमालमा ७.५ प्रतिशत, तराईमा ७.४ प्रतिशत, पहाडमा १०.३ प्रतिशत र काठमाडौं उपत्यकामा ६.६ प्रतिशत थियो।

         अन्नपूर्णपोस्टले आर्थिक वर्षको सुरुकै महिनामा रेमिट्यान्स आप्रवाहमा धक्का लागेको पनि लेखेको छ। नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहँदै आएको रेमिट्यान्स आप्रवाह वृद्धिदर पछिल्ला वर्ष घट्दै गएको छ। श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.२ प्रतिशतले घटेको छ।

          यो अवधिमा शोधनान्तर घाटा बढेर करिब ६ अर्ब रुपैयाँ पुगेको छ। गतवर्षको पहिलो दुई महिनामा तीन अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको समग्र शोधनान्तर घाटा समीक्षा अवधिमा पाँच अर्ब ८७ करोड पुगेको छ। रेमिट्यान्सको घट्दो वृद्धिदर र उच्च आयात वृद्धिदरले शोधनान्तर घाटा बढेको हो। गतवर्षको पहिलो दुई महिनामा ११ अर्ब १२ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ अर्ब ८८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु