फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक खर्ब ८ अर्बको धान

(GMT+08:00) 2017-10-30 16:34:37

       यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ। गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो। अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ।

        आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको थियो। चालु आर्थिक वर्ष २०७४/७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। गत वर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ। गत आर्थिक वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो।

        धान रोपण क्षेत्र वृद्धि, अनुकूल मौसम, सिँचाई, प्रविधि, मल, बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढ्ने मन्त्रालयले जनाएको छ। उत्पादकत्व बढेपछि अहिलेसम्मकै धेरै धान उत्पादन हुने मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताएका छन्। गत वर्ष धान उत्पादन ३.३६ प्रतिशत रहेकोमा शून्य दशमल १४ प्रतिशत उत्पादकत्व बढेको कार्कीको दाबी रहेको नागरिकन्यूजले लेखेको छ।

        विश्व बैंक र एसियाली विकास बैंकले तराईमा आएको बाढीले धान उत्पादन घट्ने अनुमान गर्दै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य खुम्चिने प्रक्षेपण गरेका थिए। तर, उत्पादनले नयाँ रेकर्ड राख्ने भए पछि दातृ निकायको अनुमान नमिल्ने आशंका गरिएको छ।

        यो वर्ष धान खेतीको क्षेत्रफल पनि विस्तार भएको छ। गत वर्ष १५ लाख २५ हजार हेक्टरमा धान खेती गरिएकोमा यो वर्ष बढेर १५ लाख ६२ हजार हेक्टर पुगेको छ। प्रतिहेक्टर ३.५ टनका दरले ५४ लाख ६७ हजार टन हुन्छ। वार्षिक अर्बौंको चामल आयात भइरहेको अवस्थामा यो वर्ष आयात घट्ने भएको छ। उत्पादन बढाउन ३५ जिल्लामा धान मिसन र २० जिल्लामा बास्नादार धान कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए।

         २०७२/७३ मा ४२ लाख ९९ हजार १ सय टनमात्र धान फलेको थियो। त्यसअघि सबैभन्दा धेरै २०७०/७१ मा ५० लाख ४७ हजार ४७ टन धान उत्पादन भएको थियो। प्रमुख खाद्यबालीको उत्पादन बढ्नु किसानलाई मात्र नभएर मुलुककै लागि खुसीको विषय भएको सापकोटाले बताए।

        सरकारले आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ। मनाङ र मुस्ताङमा बाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ।

जानकारी तथा लेखहरु