फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली आर्थिक वर्षको दुई महिनामा दोब्बर वैदेशिक लगानी

(GMT+08:00) 2017-11-01 16:38:37

       चालु आर्थिक वर्षको दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो झन्डै साढे २ गुणा बढी हो । ०७३ भदौसम्म २ अर्ब १९ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएकोलगायत कारण एफडीआई बढेको विज्ञहरूको भनाइ छ।

        नयाँ संविधान बनेपछि सम्पत्तिमाथिको अधिकार सुरक्षित भएको र लगानीसम्बन्धी थप नीतिहरू उदार बन्ने आशामा लगानीकर्ताको आत्मबल बढेको उनीहरू बताउँछन्। मुलुकमा लगानी वातावरण सुध्रिँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी बढेको र आउँदा दिनमा यो क्रम झनै तीव्र बन्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताउनुभयो।

        पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढदै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएकोलगायत कारण विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्साहित देखिएको श्रेष्ठले बताउनुभयो। हाल धमाधम चुनाव हुन गइरहेकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउने सम्भावना छ। चुनावका कारण कामदारको अभाव हुने भएकाले निर्माणका काम केही प्रभावित हुन सक्ने श्रेष्ठको भनाइ छ। कान्तिपुर अनलाइनका अनुसार यो वर्षभरिको विदेशी लगानी प्रतिबद्धताको करिब ९० प्रतिशत हो।

जानकारी तथा लेखहरु