फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी सातादेखि 'गरिब घरपरिवार परिचयपत्र' वितरण थाल्ने तयारी

(GMT+08:00) 2017-11-01 16:39:03

        सरकारले आगामी सातादेखि 'गरिब घरपरिवार परिचयपत्र' वितरण थाल्ने तयारी गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतको अध्यक्षतामा १३ कात्तिकमा बसेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले यससम्बन्धी कार्यविधि पारित गरेपछि परिचयपत्र वितरणको बाटो खुलेको हो। कार्यविधिले परिचयपत्र वितरण प्रक्रिया र विधि प्रस्ट पारेको छ। मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भन्नुभयो, 'आगामी सातादेखि नै वितरण सुरु हुनेछ।'

         मन्त्रालयले पहिलो चरणमा गरिब घरपरिवार पहिचान गरिएका २५ जिल्लाका २ सय ४१ स्थानीय तहमा क्रमश: परिचयपत्र वितरणको प्रक्रिया अघि बढाएको छ। गरिब घरपरिवार समन्वय बोर्डले विभिन्न २५ जिल्लाको जनसांख्यिक तथा मानवीय अवस्था, घरको अवस्था, घरको सुविधा, घरको सम्पत्ति, भौगोलिक स्थिति र जातजातिगत गरिबीको अवस्थालगायत विभिन्न १८ सूचक र उपसूचकहरूका आधारमा १२ लाख २४ हजार ४ सय १७ परिवारमध्ये ३ लाख ९१ हजार ९ सय ३१ घरपरिवारलाई गरिब पहिचान गरेको थियो । त्यसरी पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत तीन समूहमा वर्गीकरण गरिएको छ ।

          जसमध्ये १ लाख ८८ हजार २ सय ३५ अति गरिब, १ लाख १९ हजार ७ सय ४८ मध्यम गरिब र ८३ हजार ८ सय ४८ परिवार सीमान्तकृत गरिब रहेका छन् । गरिबीको सघनताका आधारमा वितरण गरिने परिचयपत्र रातो, पहेँलो र नीलो रङमा छुट्याइएको छ। २५ जिल्लामध्ये सबभन्दा बढी गरिब बाजुरामा छन्।बाँकी ५० जिल्लामा कहिलेदेखि वितरण हुने भन्ने अन्योल कायमै छ।

जानकारी तथा लेखहरु