फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु

(GMT+08:00) 2017-11-02 16:28:26

        सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ। नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो। सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले स्थलगतरुपमा प्रारम्भिक चरणको काम शुरु गरेको छ। विभागका अधिकृतसहित तीन जनाको टोली खटाएर गत बुधबारदेखि काम थालनी गरिएको हो।

       यही कात्तिक ७ गते सोलुखुम्बु आएको टोलीले भारतीय सर्वेक्षकले करिब ६० वर्ष अघि सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको छ। सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई दुई स्थानमा उक्त बिन्दु राखिएको बताइएको छ। टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ भने बाँकी खोज्नेक्रम जारी छ । तत्काल जाडो बढेकाले अन्य थप काम गर्न नसक्ने भएपछि टोली काठमाडौँ फर्किएको छ।

         दुई वर्षमा काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम थालेको विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले बताउनुभयो। करिब ६० वर्षअघि भारतीय सर्वेक्षण टोलीले सगरमाथाको उचाइ नापेको थियो। २०७२ को भूकम्पपश्चात सगरमाथाको अवस्था पत्ता लगाउनका लागि पनि उचाइ मापन गर्न लागिएको अधिकृत डंगोलले बताउनुभयो। बाह्र वटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जिपिएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ। भारतीय सर्वेक्षक समूहले सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर भएको पुष्टि गरेको थियो। तर भूकम्पलगायतको कारण सगरमाथाको उचाइ घट्बढ भएको हुनसक्ने अनुमान छ।

जानकारी तथा लेखहरु