फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चीन दक्षिण एसिया व्यापार मेला सुरु

(GMT+08:00) 2017-11-03 16:27:06
         चीनले दक्षिण एसियाली देशहरूमा चीन दक्षिण एसिया एक्स्पोलाई अन्य देशमा विस्तार गर्ने नीति अनुसार यो वर्ष पहिलो पटक नेपालमा एक्सपो आयोजना गरिएको छ।

          काठमाडौँको भृकुटी मण्डपमा आयोजना सुरु भएको एक्स्पोमा युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोका गाओ सुहुनले नेतृत्व गरेको १०० जना चिनियाँ ब्यापारीको टोली सहभागी भएको नेपाल खबर अनलाइनले लेखेको छ।

          आयोजकका अनुसार चीन र दक्षिण एसियाबीच सञ्चार र ब्यापार प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक चीन बाहिर एक्स्पो आयोजना गरिएको हो। चिनियाँ प्रतिनिधि मण्डलका काओ सुहुनले भन्नुभयो, 'यस्तो एक्स्पोले क्षेत्रीय सहकार्य बढाउनुका साथै चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्सलाई पनि प्रवद्र्धन गर्नेछ।'

          नेपाल, चीन, भारत, पाकिस्तान, श्रीलंका, वर्मा (म्यान्मार), बंगलादेश समेतको सहभागिता रहेको एक्स्पोमा १ सय ५० वटा भन्दा बढि स्टल रहेको आयोजकले जानकारी दिएका छन्। तीमध्ये एक हो, सिद्धार्थ होटल एशोसिएसन (लुम्बिनी)।

         यो स्टलको मुख्य उद्देश्य मेलाका लागि देशविदेशबाट नेपालमा आएकाहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिनु हो भन्नुहुन्छ, एशोसिएसन सम्बद्ध रामराज आचार्य। भन्नुहुन्छ, 'यो एउटा मेला मात्र नभएर नेपाली र बिदेशीहरुलाई नेपालको बारेमा जानकारी दिने माध्यम पनि हो।'

          कार्तिक १६-१९ सम्म चल्ने 'चीन दक्षिण एसिया मेला'मा ऊर्जा, लगानी, प्राकृतिक स्रोतको विकास, विद्युतीय तथा सूचना प्रविधि, चिया उत्पादन, पर्यटन प्रवद्र्धन, हस्तकलाका सामाग्री, परम्परागत पोशाक, खानेकुरा प्रशोधन उपकरण लगायतका सामग्री राखिएका छन्।

          काठमाडौंमा मूर्ति व्यवसाय गर्दै आएका सुरजमान शाक्य पनि यो मेलामा सहभागी हुनु भएको छ। उहाँ भन्नुहुन्छ, 'यो मेला हामी व्यवसायीका लागि विश्वका धेरै देशहरुमा परिचित हुन पाउने एउटा अवसर हो।'

          उहाँको स्टलमा २०-२५ जनाले वर्ष दिन लगाएर तयार पारिएको १६ लाख रुपियाँसम्म पर्ने मूर्तिपनि राखिएको छ। यसैगरी सबैभन्दा कम अर्थात् २५ रुपियाँ पर्ने मूर्तिपनि उहाँले त्यहाँ राख्नु भएको छ। शाक्य थप्नुहुन्छ, 'मेहनत गरेर बनाइएका मूर्ति राखेका छौं। त्यसैले मूर्तिको राम्रो व्यवसाय गर्नेमा ढुक्क छु।'

         पहिलो पटक नेपालमा भएको यो मेलामा बर्मा (म्यान्मार) का व्यवसायी समेत सहभागी छन्। बर्माबाट आउनु भएकी सम्मुले यो मेलामा खानेकुरा, हातले बनेका विभिन्न सामानहरु गरी ४० भन्दा बढी सामग्री प्रदर्शनीमा राख्नु भएको छ। सम्मु भन्नुहुन्छ, 'यस प्रकारको मेला आयोजनाले अन्तर्राष्ट्रिय व्यापार बढ्ने सम्भावना छ।'

          सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बिहिबार बिहान उद्घाटन गर्दै यस्तो अन्तर्राष्ट्रिय मेलाले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। नेपालको व्यापार घाटा बढिरहेका बेला यस्ता मेलाले नेपालको आर्थिक विकासका लागि ठूलो सहयोग पुग्ने भन्दै खुसी व्यक्त गर्नुभयो।

          नेपाल चीन कार्यकारिणी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले नेपालका लगानीकर्ता र व्यापारीका लागि यो मेला सहयोगी हुने र आगामी दिनमा देशका विभिन्न भागमा यस्तो मेला गरिने बताउनुभयो।

           एक्स्पो ४ दिनसम्म चल्ने बताउँदै उनले १ लाख भन्दा बढिले यसको अवलोकन गर्ने र १० करोड रुपियाँ भन्दा धेरैको कारोबार हुने अपेक्षा समेत गरे।

जानकारी तथा लेखहरु