फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुने संभावना

(GMT+08:00) 2017-11-03 16:28:00

         सन् २०१७ का आठ महिनामा गत वर्षको तुलनामा एक लाख ४२ हजार दुई सय बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको यही समयमा भन्दा २५ दशमलव ११ प्रतिशतले बढी हो।

          यो तथ्यांक गत अगस्टसम्मको रहेको अनलाइन खबरले लेखेको छ। सेप्टेम्बरदेखि डिसेम्बरसम्मको तथ्यांक आउँदा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य नजिक पुग्ने आकलन व्यवसायीहरुको छ।

         पर्यटन बोर्डका अनुसार सन् २०१७ को आठ महिनामा नेपाल भ्रमण गरेका विदेशी नागरिकको संख्या पाँच लाख ६६ हजार दुई सय छ। गत वर्ष यही समयमा चार लाख २४ हजार पर्यटक आएका थिए। सन् २०१६ भरिमा सात लाख ४१ हजार जनाले नेपाल भ्रमण गरेका थिए। पर्यटक आगमन डिसेम्बरसम्मै निरन्तर रहने बोर्डको भनाइ छ। यो साना हिमाल चढ्ने सिजन भएकाले पनि विदेशी नागरिकको नेपाल आगमन बढ्दो क्रममा देखिएको हो।

          पर्यटक आगामन २५ प्रतिशतले वृद्धि हुँदा अहिले देशभरका होटेलको अन्युपेन्सी ८० प्रतिशत छ। अगस्टदेखि नोभेम्बर मध्यसम्मको अवस्था हेर्दा अक्युपेन्सी दर कायम रहने अपेक्षा व्यवसायीको छ। 'अहिले बुकिङ उच्च मात्रामा छ,' होटेल व्यवसायी संघ (हान)का सीईओ प्रवेश अर्याल भन्नुहुन्छ।

          देशभरमा चारतारे होटेल दुई वटा छन् भने तीनतारे १२, दुईतारे २२, एकतारे १८ र तारारहित एक सय ६५ वटा छन्। पर्यटकस्तरका अन्य होटेल ६ सय २५ वटा छन्। र, दुई सय २६ वटा होमस्टे सञ्चालनमा छन्। यी सबैमा गरी २२ हजार ६ सय ६१ वटा कोठा छन्।

          केही नयाँ होटेल निर्माणाधीन छन्। तिनको अक्युपेन्सीका लागि पनि पर्यटक संख्या अझ बढ्नु आवश्यक रहेको व्यवसायीहरु बताउँछन्।

         गत वर्षको तुलनामा पर्वतारोही संख्यामा पनि उल्लेख्य सुधार देखिएको पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउनुहुन्छ। उहाँका अनुसार पर्वतारोही आउने क्रम नोभेम्बरसम्म चल्छ। यस वर्षको यकिन आँकडा भने आइसकेको छैन। नोभेम्बर अन्त्यमा मात्र तथ्यांक आउने गुरुङको भनाइ छ।

        'गत वर्षको तुलनामा करिब १० प्रतिशत आरोही बढेका छन्,' गुरुङ भन्नुहुन्छ। ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालका अनुसार गुणस्तरीय पर्यटकको आगमनमा भने खासै वृद्धि हुन सकेको छैन। 'संख्यात्मक वृद्धि मात्र देखिन्छ। 'गुणस्तर केलाउँदा खासै सुधार हुन सकेको छैन,' उहाँ भन्नुहुन्छ।

          भारत र चीनका नागरिक नै नेपाली पर्यटन उद्योगका मुख्य खम्बा देखिएका छन्। दुवै छिमेकी मुलुकका पर्यटकलाई लक्षित गर्दै व्यवसायीहरुले होटेलमा लगानी थपिरहेका छन्।

          गत १५ जुलाईसम्ममा भारतीय पर्यटक सबैभन्दा बढी थिए भने चिनियाँ दोस्रो नम्बरमा। सन् २०१५ र ०१६ मा पनि भारतीय र चिनियाँ पर्यटकको संख्या नै सबैभन्दा बढी थियो। तेस्रो र चौथो नम्बरमा श्रीलंका र अमेरिकी पर्यटक रहने गरेका छन्।

          टानका अध्यक्ष दाहालको भनाइमा सरकारले पर्यटक बढाउन प्रचारप्रसारलाई व्यापकता दिन सकेको छैन। 'अहिले जति पर्यटक आएका छन्, निजी क्षेत्रको पहल र प्रयासबाटै सम्भव भएको छ,' उहाँ भन्नुहुन्छ। १२ वैशाख ०७२ को विनासकारी भूकम्पका कारण पर्यटन क्षेत्र पनि थला परेको थियो। तर, विस्तारै संख्यात्मक वृद्धि देखिन थालेको छ।

          सन् २०१२ मा हालसम्मकै सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक आएका थिए। सन् १९९८ मा 'भिजिट नेपाल' अभियान सञ्चालन गरियो। त्यस वर्षका कुल पर्यटक भने चार लाख ६३ हजार ६ सय ८४ मात्र थिए। सन् २०२० सम्ममा वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ।

          यस वर्ष नेपाल भ्रमण गर्ने विदेशी नागरिकको संख्या १० लाख पुग्दा पनि त्यसलाई अत्यधिक भन्न नसकिने व्यवसायी बताउँछन्। बर्सेनि २५ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य हुनुपर्ने नेपाल ट्राभल एन्ड टुरका अध्यक्ष मधुसुदन आचार्य बताउनुहुन्छ।

          उहाँ भन्नुहुन्छ, '१० लाखकै सीमामा खुम्चेर बस्नु हुँदैन, यो न्यून संख्या हो।' पूर्वाधार निर्माणमा सरकारले तीव्रता दिन नसकेकाले लक्ष्य र आगमन बढ्न नसकेको आचार्य बताउनुहुन्छ। सडक र विमानस्थल निर्माणमा भइरहेको ढिलाइले उल्लेख्य उपलब्धि हासिल गर्न नसकिएको उहाँको भनाइ छ।

           एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमता वृद्धि हुन सकेको छैन। पर्यटकीय गन्तव्य पुग्न सहयोगी सडकहरुको पनि दुरवस्था छ। यी दुई पूर्वाधारमा मात्र सुधार आउन सके विदेशी नागरिकको नेपाल आगमन र बसाइ बढाउन सकिने व्यवसायीहरुको भनाइ छ।

जानकारी तथा लेखहरु