फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तल्लो मोदीको विद्युत् उत्पादन पुसदेखि

(GMT+08:00) 2017-11-03 16:29:19

        २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुसदेखि हुने भएको छ। आयोजना प्रमुख पवनकुमार यादवका अनुसार ९२ प्रतिशत निर्माण सम्पन्न भएको र कामले तीव्रता पाएकाले उत्पादन छिट्टै हुने भएको कान्तिपुर अनलाइनले लेखेको छ।

         आयोजनाको ०६९ साउनमा निर्माण थालिएर ६० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि निर्धारित समयमा प्रगति भएको थिएन। 'बर्खामा टनेलभित्र पहिरो जाने, भासिने, भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले निर्धारित समयभन्दा केही ढिला भयो,' उहाँले भन्नुभयो, 'अब पुसभित्रमा उत्पादन थाल्ने अवस्थामा पुग्ने तयारीका साथ काम भइरहेको छ।' निर्माणको कामलाई यतिबेला तीव्रता दिइएको उहाँले बताउनुभयो। युद्धस्तरमा काम नगरे लागतसमेत बढ्ने उहाँले सुनाउनुभयो। भौतिक संरचनाअन्तर्गत सुरुङको काम सकिएको छ। पावरहाउससम्म पाइप बिच्छयाउन, पावरहाउसका केही फिनिसिङ, टर्बाइन र जेनेरेटर जडानका काम केही बाँकी रहेको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले बताउनुभयो।

       'कन्स्ट्रक्सनकै काम सक्न अझै दुई महिना लाग्ने देखिन्छ,' उहाँले भन्नुभयो, 'तैपनि कामले यतिबेला गति लिएको छ।' केही दिनयता आयोजनाले दैनिक दुई सिफ्टमा काम गरिरहेको जनाएको छ।

          आयोजनाको ३ अर्ब ६० करोड रुपैयाँको लागत स्टिमेटमा काम थालेको आयोजनाले निर्धारित म्यादमा काम नसकेपछि लागत बढ्दै गएको हो। विद्युत् प्राधिकरणसँग ०६८ भदौमा विद्युत् खरिद सम्झौता भएको थियो। आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। आयोजनाको इन्जिनियरिङलगायत कन्स्ट्रक्सनको काम मनाङ ट्रेड लिंक र साउथ एसियन इन्फास्ट्रक्चरले गरेका छन्।

          मनाङले डयामलगायत (आउटलेन्ड) र साउथले टनेल, इन्जिनियरिङसहित पूर्वाधारको काम गरिरहेको छ। आयोजनामा नेपाल इन्भेस्टमेन्टसहित ११ वाणिज्य बैंक, उद्योगी पशुपति मुरारका, जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानलगायतको लगानी छ।

          कुस्मा नगरपालिका र मोदी गाउँपालिका आयोजनाका प्रभावित क्षेत्र हुन्। मोदीको तिलाहारबाट ४२ सय मिटर लामो सुरुङ हुँदै कुस्मा नगरपालिकाको चुवास्थित परादीमा आयोजनाको पावरहाउस रहनेछ।

जानकारी तथा लेखहरु