फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा विमान संग्राहालय सञ्चालन

(GMT+08:00) 2017-11-05 14:42:41

नेपालमै पहिलोपटक एभिएसन म्युजियम सञ्चालन गर्ने कैलालीको वेद उप्रेती ट्रस्टले शनिबारदेखि राजधानीको सिनामंगलमा दोस्रो विमान संग्राहालय सञ्चालनमा ल्याएको छ । टर्किस एयरलाइन्सको उड्न अयोग्य जहाज खरिद गरी डडेल्धुराका पाइलट वेद उप्रेतीले 'एभिएसन म्युजियम' सञ्चालनमा ल्याउनुभएको हो।

नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा ट्रस्टले करिब ७ करोड लगानीमा म्युजियम सञ्चालनमा ल्याएको इकान्तिपुर अनलाइनले लेखेको छ। टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान ०७१ फागुन २० गते अवतरणका क्रममा दुर्घटनामा परेको थियो। आठ महिनामात्रै उडेको एयरबस कम्पनीको ३३०–३०० सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयमा प्रयोगमा छैन।

यो विमान गत वर्ष टर्किस टेक्निकसँग ट्रस्टले किनेको थियो। यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्य करिब २६ अर्ब नेपाली रुपैयाँ हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान बिमा गर्ने कम्पनीबाट दाबी भुक्तानी लिएको थियो। टर्किसले पुन: बिमा कम्पनीबाट यो विमान लिलामी भाउमा खरिद गरेको थियो।

ट्रस्टलाई प्राधिकरणले सिनामंगलमा आफ्नो स्वामित्वमा रहेको ८ हजार वर्गमिटर जग्गा १० वर्षका लागि भाडामा उपलब्ध गराएको छ। त्यसको भाडा प्रतिमहिना प्रतिवर्गमिटर ६ सय रुपैयाँ तोकिएको छ। यसबाहेक ट्रस्टले प्राधिकरणलाई आन्तरिक पर्यटकहरूको टिकटबाट पनि थप दस्तुर तिर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो संग्रहालय सञ्चालन गरिएकाले माध्यमिक र उच्चमाध्यमिक तहका विद्यार्थीहरूका लागि टिकट शुल्क छुट दिइएको हो।

विश्वभर हवाई क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेकाले आइकाओले जारी गरेको आगामी पुस्तालक्षित कार्यक्रमको मोडलअनुरूप यो संग्रहालय सञ्चालनमा ल्याइएको हो। नेपाल पनि अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को सदस्य राष्ट्र भएकाले प्राधिकरणको सहकार्यमा यो संग्रहालय सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो। नेपाली हवाई उद्योगमा पनि क्याप्टेन/प्रशिक्षक पाइलट लगायतको अभाव बढ्दो छ।

प्राधिकरणले ट्रस्टलाई जग्गा उपलब्ध गराउने, विद्युत्, सडक, खानेपानीलगायत सरकारी कार्यालयसँग जोडिएका काममा सघाउने मात्रै छ। यसको यो संग्रहालयमा आर्थिक लगानी भने छैन।

जानकारी तथा लेखहरु