फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

(GMT+08:00) 2017-11-06 13:54:59

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ। सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ। सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग निर्माणका लागि आगामी जनवरीभित्रै टेन्डर आह्वान गरिनेछ। ठेकेदार कम्पनी छनोट जेठ महिनासम्म सकिने र त्यसपछि निर्माणको काम सुरु हुने नयाँ पत्रिकाले लेखेको छ। महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले डिपिआर तयारी अन्तिम चरणमा पुगेकाले सुरुङमार्ग निर्माणको काम चाँडै हुने बताउनुभयो।

सडक विभागका अनुसार नागढुंगास्थित नेपाल आयल निगमको डिपोबाट सुरु भई सिस्नेखोलासम्मको सडकखण्ड ४.५१ किलोमिटर हुनेछ। त्यसमध्ये सुरुङको भाग २.४५ किमि हुनेछ। सुरुङमार्ग निर्माणको सम्पूर्ण काम ४२ महिनामा सकिने विभागले जनाएको छ। सुरुङमार्गको कुल बजेट २२.५६ अर्ब अनुमान गरिएको छ। त्यसमध्ये १६.५६ अर्ब दातृ निकाय जापान इन्टरनेसनल कर्पोरेसन एजेन्सी (जाइका)को हुनेछ। बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारको रहनेछ। जाइकाले दिने आर्थिक सहयोग सहुलियत ऋण हो। त्यसबापत नेपाल सरकारले जापानलाई १० वर्षपछि ०.०१ प्रतिशतका दरले ब्याज भुक्तान गर्नुपर्छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरका अनुसार जापानको सहुलियत ऋणबाट बन्न लागेको यो नेपालकै पहिलो परियोजना हो। 'सुरुङमार्ग निर्माणका लागि जापानले सहुलियत ऋण दिएको छ। यसले महत्वपूर्ण अर्थ राख्छ। नेपालको पूर्वाधार निर्माणमा यसलाई कोसेढुंगाका रूपमा लिनुपर्छ,' मन्त्री बलायरले भन्नुभयो।

महाशाखाका अनुसार सुरुङमार्ग तीन लेनको हुनेछ। उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट गुड्नेछन्। बाहिरिने सवारीसाधान एक लेनबाट जानेछन्। 'सुरुङमार्ग तीन लेनको हुनेछ। दुईवटा लेनबाट सवारीसाधन भित्रिने र एक लेनबाट बाहिरिनेछन्। उपत्यका भित्रिने सवारीसाधन लामो दूरी तय गरेर आउँछन्। बिग्रने डर हुन्छ। यसका लागि दुई लेन छुट्याइएको हो। तर, बाहिरिनेमा त्यस्तो समस्या हुन्न,' महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले कम्तीमा २५ र बढीमा ५० रुपैयाँ 'टोल ट्याक्स' तिर्नुपर्ने हुन्छ। यात्राको समय छोटिने मात्र नभई सुविधासम्पन्नसमेत हुने भएकाले 'टोल ट्याक्स' प्रणाली राखिने उहाँले बताउनुभयो। 'पेइङ रोडका रूपमा विकास गर्न लागिएको हो यो सुरुङमार्ग। विदेशमा यस्ता धेरै सडक छन्,' उहाँले भन्नुभयो।

सुरुङमार्ग निर्माणपछि उपत्यकाबाट बाहिरिने सवारीसाधनले भोग्ने गरेका ट्राफिक समस्या शतप्रतिशत नियन्त्रण हुने विभागको दाबी छ। विभाग नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई नमुना प्रोजेक्टका रूपमा विकास गर्र्ने योजनामा छ। यो सुरुङमार्ग निर्माण सम्पन्न भएलगत्तै अन्य ६ स्थानमा यस्तै खालको सुरुङमार्ग निर्माण गरिने विभागको तयारी छ।

'नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सक्नासाथ सम्भावनाका अन्य ढोका खुल्नेछन्। त्यसपछि उपत्यकाको ५–६ स्थानमा यही मोडेलअनुसार सुरुङमार्ग निर्माण गरिनेछ। त्यसैले यो हाम्रा लागि आँखा खोल्ने प्रोजेक्ट हो,' महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो। यो प्रोजेक्ट सफल भए सुरुङमार्गबाटै उपत्यकालाई नुवाकोट हुँदै रसुवाको केरुङ नाकासम्म जोड्न सकिने महत्वाकांक्षी योजना अघि बढाइने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु