फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्ष नेपाल खाद्य संस्थानले सवा अर्बको धानचामल किन्ने

(GMT+08:00) 2017-11-09 14:43:51

नेपालको खाद्य संस्थानले चालु आर्थिक वर्षमा सवा अर्ब रुपैयाँको धानचामल किन्ने तयारी गरेको छ। कृषकको हक संरक्षण, बजारीकरण र बजार नियन्त्रण गर्न संस्थानले विभिन्न जिल्लाबाट धानचामल किन्न लागेको कान्तिपुर अनलाइनले लेखेको छ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार ७४ करोड रुपैयाँको २७ हजार ६ सय टन धान र करिब ३४ करोड रुपैयाँ ७ हजार ५ सय टन चामल खरिद गरिनेछ। पहिलो चरणमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट धान खरिद गरिनेछ। धानको समर्थन मूल्य तोक्न जिल्ला कार्यालयमा पत्राचार गरिसकेको सापकोटाले बताउनुभयो।

'चालु आर्थिक वर्षमा २७ हजार ६ सय टन धान किन्ने योजना छ,' उहाँले भन्नुभयो, 'यसका लागि मूल्य तोक्ने प्रक्रिया सुरु गरेका छौँ।' संस्थानका अनुसार धानको मूल्य निर्धारण गर्न प्राथमिक खरिद समिति गठन गरिएको छ। समितिका अध्यक्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन्छन्। सदस्यमा कृषि कार्यालय प्रमुख, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित जिल्लाका संस्थान प्रमुख सदस्य सचिव हुन्छन्। टोलीले स्थानीय उत्पादन, बजार मूल्य, कृषि कार्यालयले दिने मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्छ। समितिले किसानलाई मर्का नपर्ने गरी मूल्य निर्धारण गर्ने सापकोटाले दाबी गर्नुभयो। 'सबै विश्लेषण गरेर समितिले मूल्य निर्धारण गर्छ,' उहाँले भन्नुभयो, 'व्यवसायीको भन्दा प्रतिक्विन्टल ५० रुपैयाँ बढी नै हुन्छ।'

समितिले कैलालीमा मूल्य निर्धारण गरिसकेको छ। उक्त क्षेत्रमा प्रतिक्विन्टल गत वर्षजत्तिकै १९ सय ५० रुपैयाँ तोकिएको छ। उक्त मूल्यमा खरिद गर्न नसकेपछि समितिले पुन: मूल्य बढाएर प्रतिक्विन्टल २१ सय रुपैयाँ बनाएको थियो। संस्थानले यस वर्ष कैलालीबाट ४ हजार ५ सय टन धान खरिद गर्ने योजना बनाएको छ। मूल्य निर्धारण भइसकेकाले अब एक–दुई दिनमा खरिद हुने सापकोटाले बताउनुभयो। संस्थानले बाँकेबाट २ हजार, बर्दियाबाट ३ हजार, कञ्चनपुरबाट ५ सय टन, रूपन्देहीबाट २ हजार टन धान खरिद गर्ने तयारी गरेको छ।

वीरगन्जबाट ३ हजार, जनकपुरबाट १ हजार ५ सय, लहानबाट ८ हजार, मोरङबाट १ हजार, बिर्तामोडबाट २ हजार र हिमाली जिल्ला जुम्लाबाट १ सय टन किन्ने जनाएको छ। उक्त जिल्लाबाट मोटा, सोना, जिरा, मार्सीलगायत धान खरिद गर्ने जनाएको छ।

किसानबाट खरिद गरिएको धान संस्थानले चामल बनाएर बिक्री गर्छ। महेन्द्रनगर, बर्दिया र धनुषामा संस्थानको आफ्नै मिल छ। मिल नभएको ठाउँमा ठेक्का दिइन्छ। त्यसपश्चात् संस्थानले धान आवश्यक ठाउँमा बिक्री गरिने जनाएको छ। उक्त चामल कर्णाली, भेरी, सेती, महाकाली, गण्डकी, धौलागिरि, राप्तीलगायत क्षेत्रमा सहुलियत दरमा बिक्री गरिने जनाएको छ।

संस्थान अघिल्लो वर्ष पनि ४ लाख २० हजार क्विन्टल धान किन्ने प्रतिबद्धता जनाए पनि लक्ष्यको करिब ४५ प्रतिशत मात्रै खरिद गरेको थियो। कृषकलाई प्रोत्साहन र उत्पादन वृद्धि गराउन उद्देश्यसहित चालु आर्थिक वर्षमा उक्त परिमाणमा धान किन्ने योजना थियो। सरकारले केही स्थानमा धानको खरिद मूल्य व्यवसायीभन्दा कम मूल्यांकन गर्दा सरकारलाई बेच्न मानेन। त्यसपश्चात् संस्थानले पुन: मूल्य बढाएको थियो।

सापकोटाका अनुसार साढे २७ हजार टन धान अपुग भए विभिन्न जिल्लाबाट चामल खरिद गरिन्छ। 'बंगलादेशबाट आएको अनुदान चामल करिब ५२ हजार क्विन्टल मौज्दात छ। संस्थानको विभिन्न डिपोमा थप १ लाख ३१ क्विन्टल मौज्दात छ,' सापकोटाले भने, 'अपुग भए चामल खरिद गर्न ३४ करोड विनियोजन गरेका छौं। टेन्डरमार्फत तत्काल खरिद हुन्छ।'

जानकारी तथा लेखहरु