फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लमजुङ–मनाङ जोड्न वैकल्पिक पदमार्ग

(GMT+08:00) 2017-11-09 14:45:54

हिमाली जिल्ला मनाङसम्मै मोटरबाटो बनेपछि छोटिएको पदयात्रा लम्ब्याउन होटल व्यवसायी वैकल्पिक पदमार्ग बनाउन थालेका छन्। उनीहरूले पहिलो चरण अन्तर्गत लमजुङको बेंसीसहरदेखि खुदीसम्म सहजी–खुदी वैकल्पिक पदमार्ग निर्माण गरेका छन्। उक्त पदमार्ग सोमबारदेखि सञ्चालनमा आएको कान्तिपुर दैनिकले लेखेको छ। विदेशी पर्यटकसहित सांसद जमिन्द्रमान घले, पर्यटन व्यवसायी ट्रिपल पी गुरुङ, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङसहितको टोलीले उक्त बाटो हिँडेर सञ्चालनमा ल्याएका हुन्।

चालु आर्थिक वर्षमा खुदीदेखि मनाङतर्फ लमजुङको अन्तिम बस्ती च्याम्चेसम्म वैकल्पिक पदमार्ग निर्माण गर्ने तयारी गरेका छन्। त्यसपछि मनाङको ताल हुँदै, कार्ते, धारापानी हुँदै चामेसम्म वैकल्पिक पदमार्ग निर्माण गर्ने व्यवसायीले बताएका छन्। पर्यटन बोर्डको सहयोगमा निर्माण गरिएको पदमार्गका उकालो ओरालोमा सिँढी लगाइएको छ। साँघुरो ठाउँमा ग्याबिन पर्खाल राखिएको छ। भलामखोलामा फडके बनाइएको छ। उक्त बाटो साढे २ देखि ३ घण्टामा पार गर्न सकिन्छ। बेंसीसहरबाट जाने पर्यटकले खाना खाने ठाउँ खुदीसम्मका लागि उक्त बाटो उपयुक्त हुन्छ।

लमजुङ–मनाङ होटल व्यवसायी समितिका सचिव पूर्णबहादुर गुरुङका अनुसार पर्यटन बोर्डबाट २० लाख बजेट विनियोजन भएकामा १६ लाख १ हजार रुपैयाँ खर्च भएको बताए। बेंसीसहरदेखि चामेसम्म सीधै सडक निर्माण भएपछि बीच भागका व्यवसाय नै धरापमा परेकाले वैकल्पिक पदमार्ग निर्माणमा जुटेको उहाँले बताउनुभयो। 'वैकल्पिक पदमार्ग नहुँदा पर्यटक सडकमै हिँड्नुपरेको छ। धूवाँधूलो भयो,' उहाँले भन्नुभयो, 'पर्यटक सीधै चामे पुगेपछि बीचका हाम्रा व्यवसाय धराप भयो। दुवै जिल्लाका व्यवसायी तात्यौं,' उनले भने। पर्यटन व्यवसायी ट्रिपल पी गुरुङका अनुसार मोटरबाटोबाट सीधै पर्यटक माथिल्लो क्षेत्रमा पुग्ने भएकाले उनीहरूमा 'हाई अल्टिच्युट' को समस्या देखिन थालेको छ। वैकल्पिक पदमार्गले पर्यटक र व्यवसायी दुवैलाई फाइदा पुग्छ। 'पहिलेको जस्तो लामो पदमार्गले पर्यटकलाई यहाँको वातावरणसँगै घुलमिल हुँदै माथिल्लो क्षेत्रमा पुर्‍याउन सहज हुन्छ। व्यवसायीले पनि फाइदा लिन सक्छन्,' उहाँले भन्नुभयो।

सवारी साधन सञ्चालनमा आएपछि चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पाँचदिने बेंसीसहर–चामे पदयात्रा एक दिनमा छोटिएको छ। सडक निर्माण भएसँगै उक्त पदमार्ग विश्वको १० उत्कृष्टबाट समेत हटिसकेको छ। बेंसीसहरबाट मात्रै नभई काठमाडौंबाट बेंसीसहर आएर पर्यटक सीधै चामे पुगेपछि पर्यटकीय सिजनमा समेत बीचका गन्तव्यहरू सुनसान हुने गरेको व्यवसायी बताउँछन्। सडककै कारण पर्यटन व्यवसाय ओरालो लागेपछि केहीले होटल व्यवसायी नै छाडेको मस्र्याङ्दी गाउँपालिका ७, ङादीस्थित होटल हाइकर्सका होटल व्यवसायी तेजु गुरुङले बताउनुभयो। व्यवसायीको रोजीरोटी नै गुमेपछि वैकल्पिक पदमार्ग निर्माणमा जुटेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु