फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाइपलाइन विस्तारको काम अघि बढाउन आईओसीका प्रतिनिधि नेपालमा

(GMT+08:00) 2017-11-10 16:28:09

लामो समयदेखि चर्चामा रहेको रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाई विस्तारको काम अघि बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी)का प्रतिनिधि नेपाल आएका छन्। आईओसी पेट्रोलियम पाइपलाईन परियोजनाका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय प्रनिनिधिमण्डल बिहीबार काठमाडौं आएको कारोबार अनलाइनले लेखेको छ। पाइपलाइन परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आईओसी र नेपाल आयल निगमका उच्च अधिकारीबीच छलफल भएको छ। पाइपलाइन परियोजनमा भएको प्रगति र यसलाई कसरी अगाडि बढाउने विषयमा छलफल भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो। पाइपलाइन विस्तार गर्न हाल भएको प्रगति, यसमा देखिएका समस्या र भावी रणनीतिका विषयमा छलफल भएको उहाँले बताउनुभयो।

आईओसी र एनओसीका उच्च अधिकारीहरू पाइपलाइनका विषयमा स्थलगत अवलोकन गर्न आज शुक्रबार जाँदै छन्। नेपाल र भारत सरकारबीच पाइपलाईन विस्तारका लागि सम्झौता भएको दुई वर्ष बितिसके पनि अझै विस्तारको काम अगाडि बढ्न सकेको छैन।

वन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को प्रतिवेदन नआउँदा पाइपलाइन बिच्छ्याउने बाटोमा पर्ने रुख कटान गर्न सकिएको छैन। जसका कारण अझै पनि पाइप बिच्छ्याउने काम सुरु भएको छैन। पाइपलाइन बिच्छ्याउनका लागि आवश्यक पर्ने पाइपका लागि टेन्डर भइसकेको निगमको भनाई छ। भारतीय आयल निगमले आवश्यक पाइपका लागि टेन्डर गरिसकेको छ। उक्त टेन्डरअनुसार ठेकेदारमार्फत पाइप खरिद भइसकेको निगमले जनाएको छ।

खरिद गरिएका पाइप र अन्य उपकरण नेपाल ल्याउने सम्बन्धमा भन्सार छुटलगायत सुविधाका लागि पनि प्रक्रिया अघि बढेको निगमले बताएको छ। अब पाइप बिच्छ्याउने काम धमाधम अघि बढ्ने निगमले जनाएको छ।

पाइपलाइन बिच्छ्याउनका लागि 'साइट क्लियरेन्स' सबैभन्दा ठूलो समस्याको रुपमा रहँदै आएको छ। पाइपलाइन बिच्छ्याउने क्षेत्रमा घर–टहरा तथा अन्य संरचना र रुखको अवरोधले काम अघि बढ्न सकेको छैन। निगमका अनुसार पाइपलाइन बिच्छ्याउने क्षेत्रमा झन्डै २५ हजार रूख काट्नुपर्ने देखिएको छ भने करिब ४ हजार १ सय ३५ घरटहरा भत्काउनुपर्ने चुनौती छ। त्यस्तै, पाइपलाइन विस्तारका लागि सडकको जग्गा व्यवस्थापन, विद्युत्, टेलिफोनलगायतका तार पनि हटाउन बाँकी रहेको निगमको भनाइ छ। भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाई विस्तार गरिनेछ।

पहिलो चरणमा मोतिहारीबाट रक्सोलसम्म ३५ किलोमिटर र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाइन बिच्छ्याइनेछ। दोस्रो चरणमा चितवनसम्म पाइपलाइन विस्तार गर्न आईओसी तयार रहेको निगमको भनाइ छ। पाइपलाइन विस्तारको प्राविधिक सहयोग आईओसीले गर्नेछ। आईओसीका प्रतिनिधिले अमलेखगन्जदेखि चितवनसम्म स्थलगत अध्ययन गरी प्राविधिक रूपमा पाइपलाइन विस्तार गर्न उपयुक्त हुने प्रतिवेदन पेस गरेको निगमले जानकारी दिएको छ। अमलेखगन्जदेखि चितवनसम्म ६२ किलोमिटर रहेको छ। आइओसी र निगमको संयुक्त लगानीमा पाइपलाइन निर्माण कार्य अगाडि बढ्न लागेको हो। पाइपलाइन निर्माणका लागि ४ अर्ब २० करोड लागत लाग्ने अनुमान गरिएको छ। निगमले १ अर्ब र बाँकी रकम आइओसीले बेहोर्नेछ।

जानकारी तथा लेखहरु