फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वारेन्टाइनमा आधुनिक प्रयोगशाला

(GMT+08:00) 2017-11-10 16:32:18

क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयले भन्सारमा आधुनिक प्रयोगशाला स्थापना गरेको छ। क्वारेन्टाइनले नेपालगन्जस्थित चेकपोस्टमा मुलुकमै पहिलोपल्ट प्रयोगशाला सुरु गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

अब व्यवस्थित र आधुनिक तरिकाले परीक्षण गरेपछि मात्र स्वस्थ पशुजन्य उत्पादन नेपाल भित्रनेछन्। यसअघि प्रयोगशाला अभावमा प्राविधिकले सुँघेर, छामेर र हेरेर पशुजन्य सामग्री नेपाल भित्र्याउन अनुमति दिने गरेका थिए। प्रयोगशाला स्थापना भएपछि पशुहरूका रगत, माछाका नमुना, दूध, गोबरलगायत जाँच्न सकिनेछ। वरिष्ठ पशु चिकित्सक डा. शंकर पाण्डेका अनुसार भवनसहित करिब २० लाख रुपैयाँको लगानीमा प्रयोगशाला स्थापना भएको हो।

सोलारसमेत जडान गरिएकाले जुनसुकै समयमा पनि भारतबाट आउने पशुजन्य सामग्री नेपाल भित्र्याउन सकिने भएको छ। नेपालका अन्य क्वारेन्टाइनमा हालसम्म यस्तो सुविधा नभएको पाण्डेले बताउनुभयो। कृषि मन्त्रालयअन्तर्गतको उच्च मूल्य कृषि आयोजनाको सहयोगमा भवनसहितको प्रयोगशाला स्थापना गरिएको चेकपोस्टले जनायो। चौमासिक लक्ष्यअनुसार नेपाल भित्रने पशुको नमुना सुर्खेतमा रहेको क्षेत्रीय ल्याबमा लगिन्थ्यो।

'हामीले नेपाल भित्रने पशुको अवस्था कस्तो छ भन्नेबारे परीक्षणका लागि चार/चार महिनामा चेकजाँच गर्न सुर्खेत पठाउँथ्यौं,' उहाँले भन्नुभयो, 'उताबाट रिपोर्ट आउन ढिलो हुने र यता व्यवसायीले नाकामा पशु 'होल्ड' गर्न नमान्ने समस्या थियो।' पाण्डेका अनुसार सुर्खेतबाट रिपोर्ट आउने समयमा त्यो वस्तु उपभोग भइसकेको हुन्थ्यो। जसका कारण स्वस्थ पशु मात्र नेपाल भित्र्याउन लामो समयदेखि समस्या थियो। दूध र माछामा मिसावट हुने तथा पीपीआर संक्रमित बाख्रा नेपाल भित्रने गरे पनि अब समस्याको समाधान हुने पाण्डेले बताए। उनका अनुसार पशुमा रोग भित्रिँदा मानिस र नेपालमा पालन गरिएका पशुमा सर्ने जोखिम कम गर्न प्रयोगशालाको स्थापना गरिएको हो।

गत वर्षसम्म भारतबाट सबैभन्दा बढी खसीबोका भित्रिने नाका रुपैडिया हो। क्वारेन्टाइनका अनुसार गत वर्षसम्म यो नाका हुँदै आएका खसीबोकाहरू काठमाडौं, पोखरा र पूर्वी सहर पुग्थे। भारतमा सबैभन्दा बढी झाँसी, कल्फी र कानपुरमा खसीबोकाको व्यापार हुन्छ। त्यहाँका व्यापारीले नेपाल भित्र्याउन रुपैडिया र कृष्णनगर नाका प्रयोग गर्दै आइरहेका छन्।

गत वर्ष नेपालगन्ज नाका हुँदै २ लाख १० हजार ८ सय ६७ वटा खसीबोका नेपाल भित्रिएका थिए। अघिल्लो वर्ष १ लाख ६३ हजार ८ सय खसीबोका नेपाल ल्याइएका थिए। भन्सारका अनुसार माछा, दूधलगायतका पशुजन्य सामग्रीसमेत उल्लेख्य रूपमा यो नाकाबाट भित्रिरहेका छन्। चिकित्सक पाण्डेका अनुसार नेपालगन्ज नाकाबाट वार्षिक करिब २ अर्ब रुपैयाँ बढीका पशुजन्य सामग्री नेपाल भित्रने गरेका छन्। यहाँबाट भित्रिएका पशुजन्य सामग्री प्रदेश ५, ६ र ७ का विभिन्न जिल्ला हुँदै राजधानीसम्म पुग्ने गरेको क्वारेन्टाइन कार्यालयले जनायो। प्रयोगशाला स्थापनापछि क्वारेन्टाइनको कामकाज छिटो, सजिलो र भरपर्दो हुने भएको छ।

जानकारी तथा लेखहरु