फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ टोलीको निष्कर्ष, 'चीनबाट नेपालमा रेल जोड्ने सम्भावना छ'

(GMT+08:00) 2017-11-11 14:43:21

नेपाल जोड्ने रेल चीनबाट ल्याउन सक्ने सम्भावना रहेको निश्कर्षसहित चिनियाँ प्राविधिक टोली नेपालबाट स्वदेश फर्केको छ। नेपालभित्र र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष निकालिएको कान्तिपुर अनलाइनले लेखेको छ। केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनीको अध्ययन गरेको उक्त टोलीले त्यस्तो जानकारी दिएको हो। उनीहरुले अध्ययन प्रतिवेदन भने केही समयपछि बुझाउने छन्।

चिनियाँ प्राविधिकले थप अध्ययन गरेर त्यसको सम्भावनालाई टुंगो लगाउनेछन्। चीनको राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोली उक्त अध्ययन र लगानीको अवस्थाबारे अध्ययन गर्न सोमबार नेपाल आएको थियो। टोलीले नेपालभित्र र सीमामा जोड्ने रेलको प्राविधिक पक्षबारे अध्ययन गरेको थियो। उक्त टोलीले आएलगत्तै र स्थलगत अवलोकन सकेर जानुअघि छलफल गर्दै सम्भावाना रहेको निश्कर्ष निकालेको हो। टोलीले अन्य प्राविधिकहरुको समेत धारणा र नेपाल सरकारको रेल विभागले तयार गरेको अध्ययनको आधारलाई राखेर नेपालमा रेलमार्ग सम्भव रहेको जानकारी चीन सरकारलाई दिनेछ।

उनीहरुले आफ्नो पक्षबाट अध्ययन समेत गरिसकेकाले सरकारले पनि अव छुट्टै प्रस्तावसहित रेल निर्माणको लागि अघि बढ्न पर्ने हुन्छ। रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश शर्माले भन्नुभयो, 'अध्ययन राम्रो भएको छ। उनीहरुले आफ्नो चासो राखे हामीले हाम्रो कुरा राख्यौं। भएका अध्ययन र सम्भावना पनि देखाए। केही समस्या र त्यसको निधान पनि देखाएका छन। अब प्रक्रिया अघि बढाउँदा चिनियाँ पक्ष सकारात्मक रहने स्पष्ट छ।'

यस क्षेत्रमा भौगर्भिक समस्या रहेको जानकारी पनि उनीहरुले दिएका छन्। दुई प्लेटको बीचमा रहेको क्षेत्र भएकाले प्लेट आपसमा जुध्दा रेलमार्गको सुरुङमा समस्या आउन सक्ने भए पनि त्यहाँ रेल कुद्न सक्ने सम्भावना रहेको धारणा उनीहरुले ब्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु