फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रेलमार्ग आउने चर्चाले लुम्बिनीका पर्यटन व्यवसायी खुसी

(GMT+08:00) 2017-11-11 14:44:59

तिब्बतको केरुङबाट काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न सकिने चिनियाँ रेल अध्ययन टोलीले बताएपछि लुम्बिनी आसपासका मानिसमा खुसी छाएको छ। रेलमार्गको संभाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ रेल नेटवर्कको टोली पोखरा हुँदै लुम्बिनीसम्म आएर अध्ययन गरेपछि केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भिक निष्कर्ष बिहिबार सुनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

चाइना रेल्वे एड्मिनिस्ट्रेसनका उपमन्त्री चेङ जियानले नेतृत्व गरेको २३ सदस्यीय टोली बिहिबार बिहान लुम्बिनी आएर अध्ययन गरेको हो। चिनियाँ टोलीले रुपन्देहीको शंकरपुरदेखी लुम्बिनीसम्मको क्षेत्र अध्ययन गरेको थियो। 'चिनियाँ टोलीले केरुङबाट लुम्बिनीसम्म रेलमार्ग जोड्न संभव रहेको र यो परियोजना अगाडि बढाउन चीन सकारात्मक रहेको बताएको छ', रेलवे विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भन्नुभयो, 'अब प्रक्रिया अघि बढ्न नेपाल सरकारले औपचारिक प्रस्ताव गर्नु पर्दछ।'

अध्ययनपछि चिनियाँ टोली लुम्बिनीको मायादेवी मन्दिर, चाइना मन्दिर, शान्तिदीप लगायत क्षेत्रको अवलोकन गरी राजधानी फर्केको छ। चीनबाट लुम्बिनीसम्म रेल ल्याउन सके यहाँको पर्यटकीय विकासमा कायापलट हुने भन्दै पर्यटनवीद र सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन्।

लुम्बिनी भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकमा चिनियाँ तेस्रो नम्बरमा छन्। २०१६ मा १५ हजार २ सय ८४ चिनियाँ पर्यटक लुम्बिनी आएका थिए। चिनियाँ पर्यटक लुम्बिनीमा बढी आकर्षित हुन थालेको केही वर्ष मात्र भयो। सन् २०११ मा तेस्रो मुलुकबाट १ लाख ३६ हजार पर्यटक लुम्बिनी आएका थिए भने गतवर्ष पनि यति नै संख्यामा विदेशी पर्यटक आएका थिए।

सन् २०११ मा लुम्बिनी आउने चिनियाँ पर्यटकको संख्या करिब ८ हजार रहेकोमा अहिले त्यो संख्या निकै बढेको छ। चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेपछि लुम्बिनीमा चिनियाँ पर्यटकको संख्या बढेको हो।

श्रीलंका र थाइल्याण्डपछि नेपालमा धेरै पर्यटक चीनबाट आउने गरेका छन्। श्रीलंकालीहरु रेलमार्ग हुँदै भारतबाट पनि आउने गर्दछन्। तर चिनियाँ पर्यटकका लागि हवाइमार्गको विकल्प छैन। भैरहवामा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल नबन्दासम्म काठमाडौं झरेर नै लुम्बिनी आउनुपर्छ।

रेलमार्ग सञ्चालनमा आयो भने ठूलो संख्यामा चिनियाँ पर्यटक लुम्बिनी भित्र्याउन सकिने आशा व्यवसायीमा पलाएको छ। 'अहिले वार्षिक १२–१५ हजारका दरले आउने चिनियाँ पर्यटक सहज रुपमा रेलमा आउन पाएमा लाखको हिसाबमा आउन थाल्नेछन्', संस्कृती तथा पर्यटनवीद डा. गितु गिरि भन्नुहुन्छ 'श्रीलंकाली र थाई पर्यटक भन्दा चिनियाँ पर्यटक बढी खर्च गर्न सक्ने खालका छन्। त्यसैले चिनियाँ पर्यटक बढ्दा संख्या मात्र बढ्दैन गुणात्मक रुपमै फरक पर्छ।'

चीनमा आएको खुलापनसँगै घुम्ने शौखिन मानिसहरुको संख्या पनि बढेको छ। लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत भन्नुहुन्छ, 'सस्तोमा सहज तरिकाले आउन पाउने हो भने चिनियाँ पर्यटकको ओइरो लाग्छ, रेलमार्ग बनेमा धेरै चिनियाँका लागि लुम्बिनी आकर्षक गन्तव्य बन्नेछ।'

लुम्बिनीसम्मको रेलमार्गको चर्चाले पर्यटन व्यवसायीलाई बढी नै उत्साहित बनाएको छ। तर यो चर्चा चर्चामै सिमित हुने हो कि भन्ने आशंका पनि छ। सिद्धार्थ होटल एशोसिएसन (सान) लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान शाक्य भन्नुहुन्छ, 'रेलमार्ग बन्ने चर्चा सुन्दा त रमाइलो लाग्छ, काम नै हुन्छ भन्नेमा त्यति विश्वास छैन।'

रेलमार्ग बन्यो र चिनियाँहरु आउन पाए भने लुम्बिनीलाई चिनियाँ पर्यटकले नै धान्ने उहाँको आँकलन छ। शाक्य भन्नुहुन्छ, 'भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल पूरा भयो र रेलमार्ग पनि बन्यो भने त लुम्बिनीको कायापलटै हुनेछ।'

जानकारी तथा लेखहरु